लिस्बन — पछिल्लो समय युरोपली मुलुक पोर्चुगल नेपालीहरूको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएसँगै उनीहरूका समस्याहरू पनि थपिएका छन् । लामो समयसम्म राजदूतावास नहुँदा सास्ती भोगेका नेपालीहरूले राजधानी लिस्बनमा दूतावास स्थापना भएपछि पनि समस्याबाट पूर्ण रूपमा मुक्ति पाउन सकेका छैनन् ।
विशेषगरी, राहदानी (पासपोर्ट) नवीकरण तथा नयाँ बनाउने प्रक्रियामा उनीहरूले नयाँ प्रकारको झन्झट व्यहोर्नु परेको छ । लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी सेवाका लागि प्रत्येक हप्ताको शुक्रबार बेलुकी ५ बजेपछि अनलाइन अपोइन्टमेन्ट सिस्टम खुला गर्दै आएको छ । तर, यही प्रणालीमा पहुँच पाउन सर्वसाधारण नेपालीलाई मुश्किल भइरहेको र यसैको फाइदा ‘नक्कली दलाल’हरूले उठाइरहेको पाइएको छ ।
अहिले सामाजिक सञ्जाल फेसबुकतिर “राहदानीको अपोइन्टमेन्ट लिनुपर्यो भने हामीलाई सम्पर्क गर्नुहोला” भन्दै विभिन्न व्यक्ति तथा समूहहरूले खुलेआम पोस्ट गरिरहेका छन् । दूतावासले निःशुल्क प्रदान गर्ने अनलाइन अपोइन्टमेन्ट मिलाइदिने बहानामा यी दलालहरूले सोझासाझा नेपालीसँग पैसा असुलिरहेका छन् ।

दूतावासले हरेक शुक्रबार साँझ ५ बजे आफैंले भर्न सक्ने प्रणाली भए पनि सेवाग्राहीको चाप वा प्राविधिक ज्ञानको कमीको फाइदा उठाउँदै यस्ता दलालहरू सक्रिय भएका हुन् । उनीहरूले सर्वसाधारणलाई भ्रममा पारेर ठगी गरिरहेको गुनासो बढेको छ ।
यो दलालीको समस्या मात्र होइन, पोर्चुगलमा रहेका नेपालीहरूले दूतावासको समग्र सेवा प्रवाह र शुल्कका विषयमा पनि पटकपटक गुनासो गर्दै आएका छन् ।
उनीहरूले राजधानी लिस्बनस्थित दूतावासमा नै पुगेर शुल्कको अस्पष्टता र अन्य झन्झटबारे कुरा उठाए पनि समस्याको ठोस समाधान महसुस गर्न नपाएको उनीहरूको भनाइ छ ।
एकातिर दूतावासको सेवा प्रवाहप्रतिको पुरानो असन्तुष्टि र अर्कोतिर अपोइन्टमेन्टमा दलालको बिगबिगीले पोर्चुगलका नेपालीहरू थप मारमा परेका छन् ।

यस सम्बन्धमा पोर्चुगलस्थित नेपाली दूतावासले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । दूतावासले सामाजिक सञ्जालमा यस्ता भ्रामक पोस्टहरू देखेको खण्डमा वा कसैले अपोइन्टमेन्ट मिलाइदिन्छु भनेर पैसा मागेमा सचेत रहन अनुरोध गरेका छ ।
दूतावास स्थापना हुनुले पोर्चुगलका नेपालीलाई सहजता ल्याए पनि सेवा प्रवाहलाई अझै व्यवस्थित, पारदर्शी र बिचौलियामुक्त बनाउन दूतावासले तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ । साथै, यस्ता नक्कली दलाली र ठगी नियन्त्रण गर्न दूतावासले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनु जरुरी छ ।