राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले नर्वेमा बसेका नेपालीहरूसँग भेट्दै देशको समृद्धि र विकासका लागि देश–बिदेशमा रहेका नेपालीबीचको एकता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् ।
नर्वेमा आयोजित कार्यक्रममा उनले भनिन्, “बिदेशमा बसेर मात्र केही हुँदैन, यहाँको संगठन, सामर्थ्य र एकताको बलले नै देश बन्ने हो। देश बन्दै गर्दा अबको १५–२० वर्षमा हामीले चाहेजस्तो नेपाल बनेपछि किन बस्ने त बिदेशमा ?” बिदेशमा रहेका हामी सबै स्वदेश फर्कन तयार रहनु पर्छ ।
उनले स्पष्ट पारिन् कि रास्वपाको विदेश यात्राको उद्देश्य देशभित्र र बाहिर रहेका नेपालीहरूको सीप, ज्ञान र क्षमतालाई देशको विकास र रुपान्तरणमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बुझ्ने प्रयास हो ।
रास्वपा नेतृ गौतमले भनिन्, “हामी कसैको पक्ष वा विपक्षमा छैनौं । देशको मुद्दामा आधारित बहस र संवादका लागि सबैलाई स्वागत गर्छौं ।” उनले नर्वेमा उपस्थित भएका सहभागीहरूलाई धन्यवाद दिँदै भनिन्, “आजको उपस्थितिलाई मैले संख्यामा होइन, अर्थपूर्ण एकताको रूपमा पाएकी छु ।”
कार्यक्रममा नर्वेमा रहेका नेपालीहरू साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रम प्रवासी नेपाली सम्पर्क विभाग – नर्वेले आयोजना गरेको हो । उनी नर्वे भ्रमणपछि फिनल्याण्डमा रहनु भएका नेपालीहरूसँग पनि भेटघाट गर्न प्रस्थान गरेकी छिन् ।





