साइप्रस (लिमासोल) — युरोपेली मुलुक साइप्रसलाई कर्मथलो बनाइरहेका नेपाली युवाहरूद्वारा सञ्चालित गडग्रेस फुटबल क्लबले एक भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साइप्रसको सुन्दर सहर पारालिम्निमा सक्रिय रहेको उक्त क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलस्थित नियो फियस्ता बेनक्विट हलमा “म्युजिक फेस्टिवल साँझ” आयोजना गरेको हो ।
विगत केही वर्षदेखि साइप्रसमा रहेका नेपालीहरूमाझ खेलकुदमार्फत भाइचारा र एकता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न फुट्सल प्रतियोगिताहरू आयोजना गर्दै आएको गडग्रेस फुटबल क्लबले यसपटक पहिलो पटक सांगीतिक कार्यक्रममा हात हालेको हो । क्लबको यो पहिलो सांगीतिक प्रयासलाई नै भव्य र अविस्मरणीय बनाउन पछिल्लो समय नेपाली युवा पुस्तामाझ अत्यधिक लोकप्रिय बनेका गायक उर्गेन दोङ साइप्रस पुग्नुभएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण बनेका गायक दोङ मञ्चमा उक्लँदा हल दर्शकको हुटिङ र तालीले गुञ्जिएको थियो । उहाँले आफ्ना “तिम्रो मन बदलिएछ”, “नजाउ टाढा”, “बिनायो” जस्ता निकै चर्चित गीतहरू एकपछि अर्को प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनुभएको थियो । उहाँका लोकप्रिय गीतहरूमा दर्शकहरूले पनि उत्तिकै जोसका साथ नाच्दै र गाउँदै साथ दिएका थिए, जसले लिमासोलको माहोल नै सांगीतिक बनाएको थियो ।
गायक दोङका साथै साइप्रसमा रहेर कला क्षेत्रमा संघर्ष गरिरहेका स्थानीय नेपाली कलाकारहरूले समेत आ-आफ्नो बेजोड गायन तथा नृत्य प्रस्तुतिहरू दिएका थिए । यसले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो ।
अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका नेपालीहरूको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । आयोजकले कार्यक्रममा आउने दर्शकहरूको सुविधालाई पनि विशेष ध्यानमा राखेको थियो । दर्शकहरूका लागि केवल २० युरोको टिकट शुल्कमा कार्यक्रम अवलोकनका साथै खाना र आवतजावतका लागि बस सेवासमेत उपलब्ध गराइएको थियो ।

आयोजक गडग्रेस फुटबल क्लबले खेलकुदसँगै नेपाली कला, संस्कृति र संगीतलाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र पहिलो प्रयास नै भव्य र सभ्य रूपमा सफल भएकोमा खुसी व्यक्त गरेको छ । विदेशको व्यस्त जीवनशैलीका बीच यस्ता कार्यक्रमले नेपालीहरूबीचको आत्मीयता र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन् ।





