Home Login
संघ-संस्था

मोना क्रोएसियाको भलिबल प्रतियोगिता सम्पन्न

जसमान दर्नाल जिवन (जाग्रेब, क्रोएसिया) — म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति क्रोएसियाको मुख्य आयोजनामा सञ्चालित ‘तेस्रो मोना भलिबल कप’ सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो खेल कौशल प्रदर्शन गर्न र नेपालीहरुबीचको एकतालाई मजबुत बनाउन आयोजना गरिएको यो प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ ।

विश्वभरका इसाई धर्मावलम्बीहरूको महान चाड ‘क्रिसमस–२०२५’ को पावन अवसर पारेर आयोजना गरिएको यस प्रतियोगिताको गत शनिबार विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा सहभागी टोलीहरूको बाक्लो उपस्थितिमा भव्य उद्घाटन गरिएको थियो ।

क्रोएसियामा सक्रिय रहेका १० वटा विभिन्न नेपाली क्लबहरुको सहभागिता रहेको यस प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र उत्साहजनक रह्यो । लिग तथा नकआउट चरण पार गर्दै फाइनलमा पुगेका आयोजक ‘मोना क्रोएसिया’ र ‘सुदूरपश्चिम समाज’ बीचको उपाधि भिडन्त भने निकै रोमाञ्चक बन्यो । ‘बेस्ट अफ फाइभ’ प्रणालीमा खेलाइएको फाइनल खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । खेलको सुरुवाती चरणमा आयोजक मोना क्रोएसियाले हावी हुँदै लगातार पहिलो दुई सेट आफ्नो पक्षमा पारेर उपाधि नजिक पुगेको संकेत गरेको थियो ।

तर, खेलमा नाटकीय मोड तब आयो जब सुदूरपश्चिम समाजले उत्कृष्ट पुनरागमन गर्यो। तेस्रो र चौथो सेटमा सुधारिएको खेल पस्कँदै सुदूरपश्चिम समाजले लगातार दुई सेट जितेर खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याइपुर्यायो । उपाधिको छिनोफानो गर्न खेलिएको पाँचौँ तथा निर्णायक सेटमा भने आयोजक मोना क्रोएसियाले धैर्यता र संयमित खेल प्रदर्शन गर्यो ।

अन्तत : निर्णायक सेटमा १५–८ को फराकिलो अन्तरसहित शानदार जित निकाल्दै मोना क्रोएसियाले तेस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

प्रतियोगिता समापनपछि बोल्दै आयोजक संस्थाले खेलकुद केवल मनोरञ्जन मात्र नभई प्रवासमा रहेका नेपालीहरूबीच स्वास्थ्य, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने एक सशक्त माध्यम भएको बताएको छ ।

तीन दिनसम्म चलेको यो खेल मेलाले क्रोएसियामा रहेका नेपाली समुदायलाई एकै सूत्रमा बाँध्न र भाइचाराको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ । भव्य र सभ्य रूपमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्था, खेलाडी तथा शुभेच्छुकहरूप्रति मोना क्रोएसियाले आभार व्यक्त गरेको छ ।

Leave a Reply