लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले ‘लॉट ५’ (Lot 5) अन्तर्गत राहदानीका लागि आवेदन दिएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएको जनाएको छ । दूतावासले सोमबार एक जरुरी सूचना प्रकाशित गर्दै, सूचीमा नाम भएका आवेदकहरुलाई आफ्नो राहदानी बुझिलिन अनुरोध गरेको हो ।
दूतावासका अनुसार, राहदानी लिन आउँदा आवेदकहरुले केही महत्त्वपूर्ण कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
राहदानी कसरी र कहिले लिने ?
दूतावासको सूचनामा उल्लेख भएअनुसार, राहदानी लिनका लागि आवेदकहरु कार्यालय खुलेको दिन दिउँसो २ बजेपछि दूतावासको कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ । राहदानी बुझ्न आउँदा आवेदकले अनिवार्य रुपमा निम्न कागजातहरु पेश गर्नुपर्नेछ :
आफुसँग भएको सक्कल (पुरानो) राहदानी
राहदानी आवेदन गर्दा पैसा तिरेको सक्कल रसिद
आफैँ आउन नसके के गर्ने ?
कुनै कारणवश आवेदक स्वयं दूतावासमा उपस्थित हुन नसक्ने अवस्था भएमा, आफ्नो प्रतिनिधि (वारिश) मार्फत पनि राहदानी बुझ्न सकिने व्यवस्था मिलाइएको छ । यसका लागि प्रतिनिधिले निम्न कागजातहरु दूतावासमा बुझाउनु पर्नेछ :
आवेदकको सक्कल (पुरानो) राहदानी
पैसा तिरेको सक्कल रसिद
आवेदकले आफ्नो प्रतिनिधि पठाउन मञ्जुर रहेको व्यहोरा खुल्ने
मञ्जुरीनामा पत्र
आफ्नो नाम कसरी हेर्ने ?
‘लॉट ५’ को सूचीमा आफ्नो नाम भए/नभएको यकिन गर्न आवेदकहरुले दूतावासको आधिकारिक वेबसाइटमा दिइएको लिंकमा हेर्न सक्नेछन् ।
दूतावासको थप अनुरोध
दूतावासले राहदानी लिने प्रक्रियालाई छिटो र सहज बनाउन आवेदकहरुलाई थप अनुरोध पनि गरेको छ । राहदानी लिन आउँदा वेबसाइटको सूचीमा रहेको आफ्नो नामको क्रम संख्या (S.No.) नोट गरी दूतावासका कर्मचारीलाई जानकारी गराउन भनिएको छ ।
यसले कर्मचारीहरुलाई राहदानी खोज्न र छिटो सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास दूतावासको छ । राहदानी तयार भएकाहरुको सूची र थप जानकारीका लागि दूतावासको आधिकारिक वेबसाइट (pt.nepalembassy.gov.np) मा हेर्न सकिनेछ ।





