बर्लिन, जर्मनी — नेपाली राजदूतावास बर्लिनले रोमानिया र पोल्याण्डमा सञ्चालित राहदानी घुम्ती शिविरमा आवेदन दिएर हालसम्म पनि राहदानी प्राप्त नगरेका आवेदकहरूलाई तुरुन्त सम्पर्क गर्न एक जरुरी सूचना जारी गरेको छ ।
दूतावासले राहदानी विभागसँगको समन्वयमा गत २०८१ चैतमा (मार्च/अप्रिल २०२५) दुई युरोपेली मुलुकमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन भएको करिब साढे सात महिना बितिसक्दा पनि उक्त शिविरहरूमा आवेदन दिएका केही सेवाग्राहीले हालसम्म राहदानी नपाएको हुनसक्ने भन्दै दूतावासले यो सूचना प्रकाशित गरेको हो ।
कहाँ र कहिले सञ्चालन भएको थियो शिविर ?
दूतावासको सूचनाअनुसार, निम्न मिति र स्थानमा राहदानीका लागि आवेदन संकलन गरिएको थियो :
रोमानिया (बुखारेस्ट) : २०८१ चैत १३ गतेदेखि १८ गतेसम्म (तदनुसार २६ देखि ३१ मार्च २०२५)
पोल्याण्ड (वारसा) : २०८१ चैत २० गतेदेखि २२ गतेसम्म (तदनुसार ०२ देखि ०४ अप्रिल २०२५)
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “राहदानीका लागि त्यहाँ आवेदन दिने आवेदकहरूमध्ये कोही कसैले हालसम्म पनि राहदानी प्राप्त गर्नुभएको छैन भने कृपया यस राजदूतावासको आधिकारिक कर्मचारीहरुलाई तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।”
राहदानी जस्तो संवेदनशील र अत्यावश्यक कागजात प्राप्त नहुँदा सम्बन्धित व्यक्तिलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै दूतावासले समस्या समाधानका लागि यो पहल अघि बढाएको हो ।
कसलाई सम्पर्क गर्ने ?
उक्त शिविरहरूमा आवेदन दिएर हालसम्म राहदानी नपाएका व्यक्तिहरूले देहायका कर्मचारीहरूलाई सिधै फोन गरेर आफ्नो विवरण टिपाउन सक्नेछन् :
राजन यादव : +4917626741207
प्रेम भण्डारी : +4917698225546
बर्लिनस्थित नेपाली राजदूतावासले जर्मनीका साथै रोमानिया, पोल्याण्ड, हंगेरी, चेक रिपब्लिक लगायतका मुलुकहरूमा रहेका नेपाली नागरिकहरूलाई कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।






