Home Login
फिफा विश्वकप — २०२६

सन् २०२६ को विश्वकपमा पोर्चुगिज फ्यानहरूको उत्साहजनक सहभागिता हुने

सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगिज फ्यानहरूमा देखिएको उत्साहले टिकटको उच्च मूल्यलाई समेत ओझेलमा पारिदिएको छ । पोर्चुगिज फुटबल महासंघ (FPF) लाई उपलब्ध गराइएका समूह चरणका तीनवटै खेलका टिकटहरू अत्यधिक मागका कारण पूर्ण रूपमा ‘बिक्री’ भइसकेको (ओभर सब्स्क्राइब भएको) छ । महासंघ निकट स्रोतले दिएको जानकारी अनुसार, महँगो मूल्यको पर्वाह नगरी पोर्चुगिज समर्थकहरूले राष्ट्रिय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा आवेदन दिएका छन्, जसले गर्दा उपलब्ध कोटा भन्दा धेरै माग आएको हो ।

यद्यपि, पोर्चुगल+ प्लेटफर्ममार्फत आवेदन दिएका सबै फ्यानहरूले टिकट पाउने ग्यारेन्टी भने छैन । प्राप्त अनुरोधहरूको संख्या पोर्चुगलले खेल्ने रंगशालाहरूमा छुट्याइएको सिट क्षमताभन्दा निकै बढी भएकोले अहिले नै कसैको पनि टिकट सुनिश्चित भइसकेको छैन । आगामी फेब्रुअरी महिनामा एक छनोट प्रक्रिया (लटरी वा अन्य विधि) मार्फत टिकट पाउने भाग्यशाली फ्यानहरूको टुंगो लाग्नेछ, र छनोटमा परेकाहरूले मात्र त्यसपछि भुक्तानी प्रक्रिया अघि बढाउन पाउनेछन् ।

फिफाको नियम अनुसार, विश्वकपमा सहभागी प्रत्येक देशको फुटबल संघले सम्बन्धित रंगशालाको कुल क्षमताको ८ प्रतिशत मात्र टिकट प्राप्त गर्दछन् । यसको अर्थ प्रारम्भिक चरणमा दुवै देशका संघहरू मार्फत कुल १६ प्रतिशत टिकट मात्र बिक्रीका लागि उपलब्ध हुन्छन् । बाँकी टिकटहरू फिफाले आफैं व्यवस्थापन गर्दै अनलाइन प्लेटफर्म र आफ्ना साझेदारहरू मार्फत विभिन्न चरणमा वितरण गर्नेछ । डिसेम्बर ११ देखि सुरु भएको FPF को बिक्री प्रक्रियामा श्रेणी १ को टिकटको मूल्य ७ सय  डलर (करिब ५ सय ९७ युरो), श्रेणी २ को ५ सय डलर (करिब ४ सय २६ युरो) र श्रेणी ३ को २ सय ६५ डलर (करिब २ सय २६ युरो) निर्धारण गरिएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबललाई सबैको पहुँचमा पुर्‍याउन ६० डलर (करिब ५१ युरो) को विशेष सहुलियत टिकटको घोषणा गरे तापनि पोर्चुगिज फ्यानहरूका लागि यो हात पार्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । फिफाको स्पष्टीकरण अनुसार, यो ‘एन्ट्री लेभल’ को सस्तो टिकट सहभागी राष्ट्रका संघहरूलाई दिइएको कोटाको केवल १० प्रतिशत हिस्सा मात्र हो। यसको अर्थ, ठूला रंगशालाहरूमा खेल भए तापनि पोर्चुगिज फ्यानहरूका लागि तीनवटा खेलमा गरी जम्मा ८ सय वटा मात्र यस्ता सहुलियत टिकटहरू उपलब्ध हुनेछन्, जुन कुल आपूर्तिको अत्यन्तै सानो अंश हो ।

मेक्सिको, अमेरिका र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो यस खेलकुद मेला जुन ११ मा मेक्सिको सिटीको एज्टेका रंगशालामा उद्घाटन हुनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित ८२,५०० दर्शक क्षमताको मेटलाइफ स्टेडियममा हुनेछ ।

पोर्चुगलले आफ्नो विश्वकप यात्राको सुरुवात जुन १७ मा ह्युस्टनको एनआरजी स्टेडियममा गर्नेछ, जहाँ उसले डीआर कंगो, जमैका वा न्यू क्यालेडोनियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुन २३ मा सोही स्टेडियममा उज्बेकिस्तानसँग भिड्नेछ । यी दुवै खेल लिस्बन समय अनुसार साँझ ६ बजे हुनेछन् । समूह चरणको अन्तिम र रोमाञ्चक खेल जुन २७ मा मियामीको हार्ड रक स्टेडियममा कोलम्बिया विरुद्ध बिहान १२:३० बजे (लिस्बन समय) हुने तालिका रहेको छ ।

Leave a Reply