पोर्चुगल — नेपालमा तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘जेरी अन टप’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने ठूलो संख्याका नेपाली समुदायलाई लक्षित गर्दै यो चलचित्र आगामी नोभेम्बर २३ देखि प्रदर्शनमा आउन लागेको हो ।
पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा चलचित्रलाई पोर्चुगलका दर्शकमाझ ल्याउन लागेका हुन् । आयोजक संस्थाहरूले ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने मूल उद्देश्यका साथ पोर्चुगलमा नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएका छन् ।
चलचित्रको प्रदर्शन राजधानी लिस्बनको प्रतिष्ठित ‘सिनेमा आइडल’ मा हुनेछ, जहाँ चलचित्रको तीन विशेष शो आयोजना गरिनेछ । आयोजकका अनुसार, चलचित्र आइतबार २३ नोभेम्बर, सोमबार २४ नोभेम्बर र मंगलबार २५ नोभेम्बर बिहान ११ बजेदेखि प्रदर्शनमा आउने भएको हो ।
चलचित्र हेर्नका लागि टिकट मूल्य १२.५० युरो तोकिएको छ । साथै, १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि ८ युरोको सहुलियत दर कायम गरिएको छ । आयोजकले जनाएअनुसार, टिकटहरू अनलाइन लिङ्क मार्फत वा सिधै फोन गरेर बुक गर्न सकिने व्यवस्था मिलाइएको छ । जसको लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ । ( +३५१-९२०२८३३१९, +३५१-९६१४०८६५५ )
सुयोग गुरूङले निर्देशन गरेको यस चलचित्रमा चर्चित अभिनेता अनमोल केसी सँगै भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), आँचल शर्मा, जसिता गुरुङ, र उषा खड्गी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको चलचित्रमा हेमराज विसीको कथा र विश्वास तिम्सिनाले पटकथा लेखन छ ।
नेपालमा राम्रो व्यापार गरेको ‘जेरी अन टप’ को पोर्चुगल प्रदर्शनले त्यहाँ रहेका नेपालीहरूलाई नेपाली सिनेकथा र संस्कृतिसँग जोड्ने अपेक्षा आयोजकले लिएको छ ।





