Home Login
चलचित्र

नेपालमा सफल ‘जेरी अन टप’ अब पोर्चुगलमा, नोभेम्बर २३ देखि प्रदर्शन हुने

पोर्चुगल  नेपालमा तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सफल नेपाली चलचित्र ‘जेरी अन टप’ अब युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने ठूलो संख्याका नेपाली समुदायलाई लक्षित गर्दै यो चलचित्र आगामी नोभेम्बर २३ देखि प्रदर्शनमा आउन लागेको हो ।

पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा चलचित्रलाई पोर्चुगलका दर्शकमाझ ल्याउन लागेका हुन् । आयोजक संस्थाहरूले ‘नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ’ भन्ने मूल उद्देश्यका साथ पोर्चुगलमा नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएका छन् ।

चलचित्रको प्रदर्शन राजधानी लिस्बनको प्रतिष्ठित ‘सिनेमा आइडल’ मा हुनेछ, जहाँ चलचित्रको तीन विशेष शो आयोजना गरिनेछ । आयोजकका अनुसार, चलचित्र आइतबार २३ नोभेम्बर, सोमबार २४ नोभेम्बर र मंगलबार २५ नोभेम्बर बिहान ११ बजेदेखि प्रदर्शनमा आउने भएको हो ।

चलचित्र हेर्नका लागि टिकट मूल्य १२.५० युरो तोकिएको छ । साथै, १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि ८ युरोको सहुलियत दर कायम गरिएको छ । आयोजकले जनाएअनुसार, टिकटहरू अनलाइन लिङ्क मार्फत वा सिधै फोन गरेर बुक गर्न सकिने व्यवस्था मिलाइएको छ । जसको लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ । ( +३५१-९२०२८३३१९, +३५१-९६१४०८६५५ )

सुयोग गुरूङले निर्देशन गरेको यस चलचित्रमा चर्चित अभिनेता अनमोल केसी सँगै भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), आँचल शर्मा, जसिता गुरुङ, र उषा खड्गी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको चलचित्रमा हेमराज विसीको कथा र विश्वास तिम्सिनाले पटकथा लेखन छ ।

नेपालमा राम्रो व्यापार गरेको ‘जेरी अन टप’ को पोर्चुगल प्रदर्शनले त्यहाँ रहेका नेपालीहरूलाई नेपाली सिनेकथा र संस्कृतिसँग जोड्ने अपेक्षा आयोजकले लिएको छ ।

Leave a Reply