हेलसिन्की — नेपालमा कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको पारिवारिक सामाजिक चलचित्र ‘परान’ अब युरोपेली मुलुक फिनल्याण्डका दर्शकमाझ पनि पुग्ने भएको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीमा आउँदो नोभेम्बर २३ र २४ तारिखमा चलचित्रको दुई विशेष शो आयोजना गर्न लागिएको हो ।
“नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ” भन्ने मूल नारा बोकेको ‘मामा ईभेन्ट्स’ ले हेलसिन्कीमा चलचित्र प्रदर्शनको सम्पूर्ण व्यवस्थापन गरेको छ । लामो समयदेखि युरोपमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको ‘मामा ईभेन्ट्स’ ले यसपटक ‘परान’ लाई दर्शकमाझ ल्याउन लागेको हो ।
आयोजकका अनुसार, चलचित्र हेलसिन्कीस्थित ‘किनो मायरी–मायर्मेकी’ (Kino Myyri – Myyrmäki) मा प्रदर्शन हुनेछ । चलचित्र पहिलो शो नोभेम्बर २३, आइतबार (मध्यान्न १२:०० बजे) र दोस्रो शो नोभेम्बर २४, सोमबार (साँझ ६:४५ बजे) प्रदर्शन हुने भएको हो । चलचित्र हेर्नका लागि प्रतिव्यक्ति टिकट शुल्क १६.९० युरो तोकिएको छ । उक्त चलचित्रको टिकटको लागि लिङ्कमा गएर टिकट लिन सकिनेछ ।
पारिवारिक कथावस्तुमा आधारित ‘परान’ ले अहिलेको नेपाली समाजमा भइरहेको यथार्थ कथालाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई ‘काकु’ उपनामले परिचित निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो ।
आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद भने यम थापाले तयार पारेका हुन् । गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले यो चलचित्र निर्माण गरेको हो ।
‘परान’ मा नेपाली चलचित्र क्षेत्रका दिग्गजदेखि नयाँ पुस्ताका कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ । चलचित्रमा वरिष्ठ कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठका साथै महेश शाह, अञ्जना बराइल, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ ।
‘मामा ईभेन्ट्स’ ले फिनल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली भाषीहरूलाई चलचित्र हेरेर नेपाली कला, संस्कृति र चलचित्रको प्रवर्द्धनमा साथ दिन अनुरोध गरेको छ ।





