Home Login
संघ-संस्था

मालिका सेवा समाज पोर्चुगलद्वारा मानव सेवा आश्रम, बाग्लुङलाई आर्थिक सहयोग

पोर्चुगल — ‘सडक मानवमुक्त समाज — सबैका लागि परिवार’ भन्ने पवित्र नारालाई आत्मसात गर्दै मानव सेवा आश्रम, बाग्लुङ शाखाले सञ्चालन गरिरहेको भवन निर्माण अभियानलाई मालिका सेवा समाज, पोर्चुगलले सहयोग प्रदान गरेको छ ।

असहाय, अनाथ तथा अशक्त व्यक्तिहरूलाई माया, सुरक्षा र सम्मानजनक जीवन उपलब्ध गराउने उदात्त उद्देश्यसहित आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मा सहकार्य गर्न समाजका कार्यसमिति, पूर्वकार्यसमिति तथा नजिकका साथीभाइहरूमार्फत आर्थिक सहयोग संकलन गरिएको थियो ।

उक्त सहयोग अभियान संस्थापक अध्यक्ष दिपक सापकोटाको समन्वय तथा अध्यक्ष राजु सापकोटाको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको हो।

समाजबाट जम्मा ७ सय ९१ युरो प्राप्त भएको छ, जुन आजको विनिमय दर अनुसार एक लाख उनन्तिस हजार सात सय चौबीस रुपैयाँ हुने संस्था स्रोतले जनाएको छ । संकलित सम्पूर्ण रकम मानव सेवा आश्रम, बाग्लुङको बैंक खातामा विधिवत् रूपमा जम्मा गरिएको छ ।

सहयोग रकमको भुक्तानी तथा औपचारिक हस्तान्तरण समाजतर्फबाट कार्यसमिति सदस्य जिवन सापकोटाले महायज्ञ स्थलमै उपस्थित भई सम्पन्न गर्नुभयो । सो अवसरमा आश्रमले प्रदान गरेको विशेष सम्मान तथा सम्मानपत्र पनि उहाँले ग्रहण गर्नुभयो ।

२०७७ मा स्थापित मालिका सेवा समाज, पोर्चुगलले ‘सेवा नै धर्म हो’ भन्ने मूलभाव बोकेर स्थापना कालदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएको छ । नेपालमा विभिन्न समयमा आएको आगलागी, विपन्न तथा असहाय परिवार, विद्यालय तथा युवा क्लबहरूलाई निरन्तर आर्थिक सहायता प्रदान गर्दै आएको समाजले पोर्तुगलमा असामयिक रूपमा निधन हुने नेपाली समुदायका लागि शव व्यवस्थापन तथा राहत सहयोग पनि गर्दै आएको छ ।

संस्थाले पोर्चुगल तथा विश्वभरबाट मन, वचन र कर्मले सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी हातहरू प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

 

 

Leave a Reply