Home Login
संघ-संस्था

मानवताको मन्दिर निर्माणार्थ बाग्लुङ समाज बेल्जियमद्वारा आर्थिक सहयोग हस्तान्तरण

बाग्लुङ — “मानवताको मन्दिर निर्माण” भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा आश्रम, बाग्लुङ शाखाले सञ्चालन गरिरहेको भवन निर्माण अभियानलाई बाग्लुङ समाज बेल्जियमले उल्लेखनीय आर्थिक सहयोग प्रदान गरेको छ ।

असहाय, अपाङ्ग, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा असक्त र सडकमा आश्रित नागरिकहरूलाई भोजन, वस्त्र र आवाससहित सम्मानजनक जीवन प्रदान गर्ने उद्देश्यसहित आश्रमले बाग्लुङमा श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । यही उदात्त अभियानप्रति सहानुभूति राख्दै समाजले बेल्जियमस्थित नेपाली समुदायबाट सहयोग संकलन अभियान सञ्चालन गरेको हो ।

अभियानका संयोजक तथा महासचिव दिपक सापकोटाले सडक मानवमुक्त समाज—सबैका लागि परिवार भन्ने मूल नारालाई सार्थक बनाउन गरिएको अपिललाई बेल्जियमवासी नेपालीहरूले उत्साहपूर्वक स्वीकारेको बताए । अभियानलाई सहज र प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बिदुर केसी तथा कोषाध्यक्ष हरि शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजले जनाएको छ । जम्मा कुल सहयोग रकम तीन लाख छप्पन्न हजार चार सय एकतीस रुपैयाँ रहेको छ ।

समाजले संकलित सम्पूर्ण रकम मानव सेवा आश्रम, बाग्लुङको बैंक खातामा विधिवत् रूपमा जम्मा गरिएको पुष्टि गरेको छ ।

महासचिव दिपक सापकोटा तथा अध्यक्ष रोकाले सहयोग अभियानमा मन, वचन र कर्मले साथ दिने सम्पूर्ण बेल्जियमवासी नेपाली समुदायप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन् । साथै भविष्यमा पनि समाजसेवा, मानवता र समुदायिक सहकार्यका अभियानहरूमा निरन्तर हातेमालो रहने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply