Home Login
क्रोएसिया

क्रोएसियामा अस्ताए ३८ वर्षीय सन्तोष सापकोटा

जसमान दर्नाल ‘जीवन’/ जाग्रेब, क्रोएसिया — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक क्रोएसियामा कार्यरत एक नेपाली युवाको रेल दुर्घटनामा परी दुःखद निधन भएको छ । सोमबार साँझ काम सकेर बासस्थान फर्कने क्रममा भएको दुर्घटनामा काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–२ का ३८ वर्षीय सन्तोष सापकोटाको ज्यान गएको हो ।

घटना सोमबार बेलुकी करिब ८ बजेको हो । क्रोएसियाको युजेना क्भातेर्निका रेत्कोभ्ची (Južna Kvaternikova, Retkovci) स्थित एक निर्माण कम्पनीमा कार्यरत सापकोटा आफ्नो नियमित काम सकेर कोठातर्फ फर्कदै थिए । सोही क्रममा रेलको लिक पार गर्ने बेला उनलाई तीव्र गतिमा आएको रेलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर चोट लागेका सापकोटाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाले घटनालगत्तै एक प्रेस नोट जारी गर्दै यस दुःखद घटनाको पुष्टि गरेको छ । संघका अनुसार मृतकका परिवारलाई घटनाबारे जानकारी गराइ सकिएको छ । मृतक सापकोटाको शवलाई सम्मानपूर्वक नेपाल पठाउनका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । यसका लागि एनआरएनए क्रोएसियाले अस्ट्रियाको भियनास्थित नेपाली कूटनीतिक नियोग (दूतावास) सँग समन्वय गरिरहेको जनाएको छ । विशेष गरी, एनआरएनए क्रोएसियाको पहल र समन्वयमा सापकोटा कार्यरत निर्माण कम्पनीले शव नेपाल पठाउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति जनाएको छ । यो सहमतिले शोकमा डुबेको परिवारलाई आर्थिक भारबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

एनआरएनए क्रोएसियाले यो घटनालाई अत्यन्तै दुःखद र अकल्पनीय भन्दै गहिरो शोक व्यक्त गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, “यो दुःखद घडीमा हाम्रो एनआरएनए क्रोएसिया परिवार मृतकको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”

साथै, संघले क्रोएसियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यातायात र सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । सडक वा रेल मार्ग पार गर्दा सचेत रहन र यातायातका नियमहरूको पूर्ण पालना गर्न संघले विशेष अपिल गरेको छ ।

Leave a Reply