लिस्बन (पोर्चुगल) — आगामी डिसेम्बर ११ (बुधबार) पोर्चुगलमा आयोजना हुन लागेको सामान्य हडतालका कारण हवाई यातायातमा ठूलो असर पर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक विमान सेवा TAP Air Portugal ले हडतालको दिन आफ्ना अधिकांश उडानहरू रद्द गरेको घोषणा गरेको छ ।
यद्यपि, अत्यावश्यक यात्रालाई ध्यानमा राख्दै एयरलाइन्स र विभिन्न ट्रेड युनियनहरूबीच “न्यूनतम सेवाहरू” सञ्चालन गर्ने सहमति भएको छ । TAP ले हडतालबाट प्रभावित हुने उडानका यात्रुहरूलाई सम्पर्क गर्न थालिसकेको छ । यात्रुहरूलाई असुविधा नहोस भन्नका लागि एयरलाइन्सले लचकदार नीति अपनाएको छ ।
यदि कुनै यात्रुले डिसेम्बर ११ को आफ्नो उडानलाई सो मितिभन्दा तीन दिन अघि वा तीन दिन पछि (डिसेम्बर ८ देखि १४ भित्र) सार्न चाहन्छन् भने, उनीहरूले नि:शुल्क रूपमा आफ्नो टिकट पुनर्तालिका गर्न सक्नेछन् । रद्द भएका उडानका यात्रुहरूलाई वैकल्पिक उडान वा समाधानका लागि एयरलाइन्सले जानकारी दिइरहेको छ ।
कुन-कुन उडानहरू सञ्चालन हुनेछन् ? (न्यूनतम सेवाहरू)
हडतालको दिन पनि TAP ले सिमित गन्तव्यहरूमा उडान भर्ने सहमति गरेको छ । युनियनहरूसँगको सम्झौता अनुसार निम्न उडानहरू सञ्चालन हुनेछन् ।
१. आन्तरिक उडानहरू (पोर्चुगलका टापुहरू) :
अजोरेस : ३ राउन्ड-ट्रिप उडानहरू ।
मदेइरा : २ राउन्ड-ट्रिप उडानहरू ।
२. युरोप र अफ्रिका : निम्न देशहरूमा एक-एक राउन्ड-ट्रिप उडान हुनेछ : बेल्जियम, लक्जमबर्ग, संयुक्त अधिराज्य, जर्मनी, स्विट्जरल्याण्ड, फ्रान्स, केप भर्डे र गिनी-बिसाउ ।
३. लामो दुरीका अन्तर्राष्ट्रिय उडानहरू :
ब्राजिल : ३ राउन्ड-ट्रिप उडानहरू ।
संयुक्त राज्य अमेरिका : २ राउन्ड-ट्रिप उडानहरू ।
नागरिक उड्डयन पाइलट युनियन (SPAC) ले हडतालको समयमा पनि कानुन वा सम्झौता अनुसार तय गरिएका ‘न्यूनतम सेवाहरूको पालना गर्ने‘ ग्यारेन्टी दिएको छ ।
यद्यपि, पाइलटहरू पूर्ण रूपमा हडतालमा उत्रिने वा नउत्रिने भन्ने निर्णय भने बाँकी नै छ । यस विषयमा निर्णय लिन SPAC ले शुक्रबार एक असाधारण साधारण सभा बोलाएको छ, जहाँ सदस्य पाइलटहरूले हडतालमा सामेल हुने मोडालिटीबारे अन्तिम निर्णय गर्नेछन् ।
डिसेम्बर ११ मा यात्रा गर्ने योजनामा रहेका यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गर्न र एयरलाइन्सको आधिकारिक सूचनामा अपडेट रहन सुझाव दिइएको छ ।





