लिस्बन — पोर्चुगलमा यस वर्षको नोभेम्बर महिना विगतका वर्षहरूको तुलनामा अत्यधिक वर्षा हुने महिनाको रूपमा दर्ज भएको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड द एटमोस्फियर (IPMA) ले सार्वजनिक गरेको पछिल्लो मासिक जलवायु बुलेटिन अनुसार, मुख्य भूमि पोर्चुगलमा गत महिना सन् २ हजार पछि तेस्रो र सन् १९३१ पछि १३ औं सबैभन्दा धेरै वर्षा भएको नोभेम्बर महिना बनेको छ । जलवायु परिवर्तन र मौसममा आइरहेको बदलावका बीच पोर्चुगलले यो वर्ष भारी वर्षा र आँधीको सामना गर्नुपरेको हो ।
IPMA को प्रारम्भिक तथ्यांक विश्लेषण अनुसार, नोभेम्बर महिनामा “धेरै वर्षा” भएको थियो, जहाँ कुल वर्षाको मात्रा सामान्य भन्दा निकै माथि रहेको पाइएको छ। सन् १९९१ देखि २०२० सम्मको सन्दर्भ अवधिको तुलनामा यस पटक औषत भन्दा करिब १ सय ८० प्रतिशत बढी वर्षा भएको तथ्यांकले देखाएको छ । वर्षाको यो तीव्रताले देशका विभिन्न स्थानहरूमा नयाँ रेकर्ड समेत कायम गरेको छ । नोभेम्बर महिनाका लागि वर्षाको उच्चतम मानका पन्ध्र नयाँ चरम रेकर्डहरू दर्ता भएका छन्, जसमध्ये पाँचवटा निरपेक्ष चरमसँग मेल खान्छन् ।
विशेषगरी कोइम्ब्रा, बेन्कान्टा, ब्यारेइरो, लाभ्रेडियो, फिगुइरा दा फोज, लेइरिया र अल्कोबाकाका मौसम विज्ञान स्टेशनहरूमा वर्षाको यो कीर्तिमान प्रमाणित भएको छ ।
यसपटकको भारी वर्षा र प्रतिकूल मौसममा ‘आँधी क्लाउडिया’ को भूमिका प्रमुख रहेको मौसमविद्हरूले जनाएका छन् । IPMA ले विशेष रूपमा हाइलाइट गरेको यो आँधीका कारण देशका विभिन्न भागमा भारी र लामो समयसम्म वर्षा हुनुका साथै असिना र तीव्र गतिको हावा चलेको थियो । अल्बुफेरा क्षेत्रमा आँधीको प्रभाव अत्यधिक देखिएको थियो, जहाँ प्रतिघण्टा २ सय २० किलोमिटरको अनुमानित गतिमा हावा चलेको रेकर्ड गरिएको छ । यो प्राकृतिक विपत्तिका कारण तीन जनाको दुःखद मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते र विस्थापित हुनुपरेको थियो । आँधीबेहरी र तेज हावाले भौतिक संरचनामा समेत क्षति पुर्याएको थियो ।
वर्षा र आँधीसँगै तापक्रममा पनि यस वर्ष उतारचढाव देखिएको छ । अत्यधिक वर्षा भए पनि गत नोभेम्बर महिना तातो महिनाको सूचीमा समेत परेको छ। तथ्यांक अनुसार यो सन् २ हजार पछिको १० औं सबैभन्दा तातो नोभेम्बर महिना हो । यस अवधिमा औषत हावाको तापक्रम १२.४७ डिग्री सेल्सियस रेकर्ड गरियो, जुन १९९१–२०२० को औषत भन्दा ०.१४ डिग्री सेल्सियसले बढी हो । महिनाभरको औषत अधिकतम तापक्रम १६.९३ डिग्री सेल्सियस र औषत न्यूनतम तापक्रम ८.०१ डिग्री सेल्सियस रहेको IPMA ले जनाएको छ । यसरी एकै महिनामा अत्यधिक वर्षा र औषतभन्दा बढी तापक्रमको यो सम्मिश्रणले पोर्चुगलको जलवायुमा आइरहेको परिवर्तनलाई थप प्रस्ट्याएको छ ।





