लिस्बन (पोर्चुगल) — किरात समुदायको महान तथा उधौली पर्व चासोक तङ्नाम ५०८५ को पावन अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलले राजधानी लिस्बनमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम लिस्बनस्थित ‘सिटि वोकमुन्दो’ को हलमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भयो ।
संस्थाका अध्यक्ष रुकमान केरुङको सभापतित्वमा सम्पन्न उक्त औपचारिक तथा सांस्कृतिक कार्यक्रममा पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू तथा बाक्लो संख्यामा किरात लिम्बु समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमै किरात याक्थुङ चुम्लुङ पोर्चुगलका पूर्व अध्यक्ष प्रेम लिम्बुले चासोक तङ्नामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए । उनले यो पर्वले प्रकृति पुजा, पितृ सम्मान र नयाँ अन्नबाली भित्र्याउने परम्परालाई कसरी जोडेको छ भन्ने विषयमा प्रष्ट पार्दै उपस्थित सबैलाई पर्वको गरिमा बुझाउने प्रयास गरे ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) र गायिका मिजिरा सम्बाहाम्फेको सांगीतिक प्रस्तुतिले हलको माहोल तताएको थियो । गायक तुम्बाहाम्फे र गायिका सम्बाहाम्फेले आफ्ना चर्चित र लोकप्रिय गीतहरू पस्किएर उपस्थित दर्शक तथा श्रोताहरूलाई छमछमी नचाएका थिए । उनीहरूको जोसपूर्ण प्रस्तुतिमा युवादेखि वृद्धवृद्धासम्मका सहभागीहरू रमाएका देखिन्थे । यसका साथै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमको बीच-बीचमा निता पतङ्वा, माया लामा, श्रीद्दिका सुवेदी, प्रत्युसा राई, निया हाङ्सरुम्बा र साम्याङ लिवाङ लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए ।
मौलिकतालाई प्राथमिकता दिइएको यस कार्यक्रममा लिम्बु जातिको पहिचान बोकेको च्याब्रुङ (केलाङ) नाच तथा पालाम नाचको समेत विशेष प्रस्तुति रहेको थियो । परम्परागत भेशभुषामा सजिएका कलाकारहरूले ढोलको तालमा च्याब्रुङ नाच्दा र पालाम गाउँदा लिस्बनको उक्त हल नेपालकै कुनै किरात गाउँ जस्तै गुञ्जायमान बनेको थियो । यी मौलिक सांस्कृतिक झाँकीहरूले कार्यक्रमको आकर्षण मात्र बढाएनन्, बरु प्रवासमा हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो जरोकिलो चिनाउन महत्त्वपूर्ण भूमिका समेत खेल्यो ।
कार्यसमिति सदस्य सुरेश फोम्बोले निकै आकर्षक शैलीमा सञ्चालन गरेको यो कार्यक्रम पोर्चुगलमा रहेका नेपाली समुदायबिच एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न सफल रह्यो । चासोक तङ्नामको शुभकामना आदान-प्रदान, खानपान र नाचगानसहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न यो कार्यक्रमले प्रवासमा नेपालीपन र विशेषगरी किराती संस्कृतिलाई जीवन्त राख्न ठुलो टेवा पुर्याएको आयोजकले जनाएको छ ।






