Home Login
खेलकुद

पोर्चुगलमा उदाउदै नेपालका पुर्ब राष्ट्रिय कराते खेलाडी रोजन खड्का

लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलमा सम्पन्न प्रतिष्ठित ‘ओपन कराते द तोरेस वेद्रास’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका रोजन खड्काले काश्य पदक जित्न सफल भएका छन् । ‘क्लब द कराते सोथाई’ द्वारा आयोजित उक्त प्रतियोगितामा खड्काले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पदक दिलाएका हुन् ।

सुनसरी जिल्लाको इटहरी–१७ स्थायी घर भएका खड्काले प्रतियोगिता अन्तर्गत ७५ किलोभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । विदेशी भूमिमा भएको कडा प्रतिस्पर्धाका बाबजुद उनले आफ्नो खेल कौशलमार्फत पोडियम फिनिस सुनिश्चित गर्न सफल भए । हाल पोर्चुगलको ‘आदोस कुन्ह्या दुस’ मा बसोबास गर्दै आएका खड्का विदेशमा रहेर पनि आफ्नो खेल जीवनलाई निरन्तरता दिइरहेका छन् । उनी सन् २०२४ को अप्रिल १७ मा पोर्चुगल पुगेका थिए ।

रोजन खड्का नेपाली कराते क्षेत्रका एक स्थापित र अनुभवी खेलाडी हुन् । उनले यसअघि नेपालमा सम्पन्न विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो वर्चस्व कायम राखिसकेका छन् । विशेष गरी सन् २०२२ को अप्रिलमा सम्पन्न प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा उनले तत्कालीन प्रदेश–१ को तर्फबाट ८४ केजी मुनि तौल समूहमा स्वर्ण पदक जितेका थिए । सोही प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत उनी ‘सर्वोत्कृष्ट खेलाडी’ समेत घोषित भएका थिए ।

खड्काको खेल यात्रा निकै लोभलाग्दो छ । उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए । साथै, प्रदेश–१ (हाल कोशी प्रदेश) बाट सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार छनोट भएर खेल्ने उनी पहिलो कुमुते कराते खेलाडीका रूपमा चिनिन्छन् ।

घरेलु मैदानमा मात्र नभई खड्कासँग अन्तर्राष्ट्रिय खेलको पनि बाक्लो अनुभव छ । उनले यसअघि मलेसिया, भारत, बङ्गलादेश, थाइल्याण्ड, सिङ्गापुर, फ्रान्स र जर्मनीलगायतका देशमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

पोर्चुगल बसाइका क्रममा पनि निरन्तर कराते अभ्यास र प्रतियोगितामा सक्रिय खड्काले ‘ओपन कराते द तोरेस वेद्रास’ मा सहभागिता जनाउँदै पुनः एकपटक अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेका छन् । उनको यो सफलताले प्रवासमा रहेका नेपाली खेलाडीहरूलाई थप हौसला प्रदान गरेको छ ।

Leave a Reply