पोर्चुगल — नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक, संगीतकार तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ७ का कोच खेम सेन्चुरी आफ्नो सांगीतिक जादु छर्न युरोपेली मुलुक पोर्चुगल आउने पक्का भएको छ । प्रवासमा रहेका नेपाली दर्शक तथा श्रोताहरूलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको विशेष सांगीतिक कार्यक्रमका लागि सेन्चुरी युरोपको पोर्चुगल आउन लागेका हुन् ।
गायक सेन्चुरीको यो युरोप यात्रा झन्डै एक महिना लामो हुनेछ, जसलाई ‘रमाइलो युरोप टूर’ नाम दिइएको छ । यो सांगीतिक यात्राको शुभारम्भ भने पोर्चुगलबाट हुनेछ । ‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना गर्न लागेको यो ‘रमाइलो युरोप टूर’ अन्तर्गत सेन्चुरीले डिसेम्बर महिनाभर युरोपका विभिन्न देशहरूमा पुगेर आफ्ना लोकप्रिय गीत-संगीतहरूमार्फत दर्शकहरूलाई नचाउनेछन् ।
यस सांगीतिक महाकुम्भको पहिलो प्रहर अर्थात् उद्घाटन कार्यक्रम यही आउँदो डिसेम्बर २० तारिखका दिन पोर्चुगलमा हुने तय भएको छ । ‘खड्का ब्रदर्स’ को विशेष प्रस्तुति र ‘बीबी इभेन्ट’ को आयोजनामा हुन लागेको यो कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित ‘रिपब्लिका दा म्युजिका’ हलमा भव्यताका साथ सम्पन्न हुनेछ । आयोजकका अनुसार कार्यक्रम साँझ ७ बजेदेखि सुरु भई राति १२ बजेसम्म चल्नेछ, जहाँ दर्शकहरूले सेन्चुरीका दमदार प्रस्तुतिहरूको भरपुर आनन्द लिन पाउनेछन् । गायक सेन्चुरीसँगै पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको पनि उक्त कार्यक्रममा बेजोड प्रस्तुति हुने भएको छ। गायक सेन्चुरीसँगै पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको पनि उक्त कार्यक्रममा बेजोड प्रस्तुति हुने भएको छ ।
पछिल्लो समय ‘भ्वाइस अफ नेपाल’ को कोचको रूपमा समेत चर्चामा रहेका सेन्चुरीको क्रेज युरोपमा रहेका नेपालीहरूमाझ निकै लोभलाग्दो छ । यसै कुरालाई मध्यनजर गर्दै आयोजकले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने तयारी गरेको छ । उक्त विशेष सांगीतिक साँझमा सहभागी हुन चाहने दर्शकहरूका लागि प्रति व्यक्ति २० युरो टिकट शुल्क निर्धारण गरिएको छ ।
कार्यक्रमसम्बन्धी थप जानकारी लिन वा अन्य विस्तृत विवरण बुझ्नका लागि आयोजकले ९२०४२२७३० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।






