जसमान दर्नाल जिवन (क्रोएसिया) — वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि युरोपेली मुलुक क्रोएसियामा संघर्षरत युवा गायक मनि काफ्लेले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो नयाँ सांगीतिक सिर्जना दर्शक तथा श्रोतामाझ ल्याएका छन् ।
परदेशको व्यस्त दैनिकी र संघर्षका बीच पनि नेपाली संगीतप्रतिको अगाध प्रेमलाई जीवित राख्दै उनले ‘शुन्यता’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गायक काफ्लेकै शब्द सिर्जना र संगीत रहेको यस गीतमा र्याप र मेलोडीको उत्कृष्ट फ्युजन सुन्न सकिन्छ। सांगीतिक मञ्चमा ‘म्यानिक्स’ उपनामले परिचित काफ्ले विशेषगरी आधुनिक शैली र र्याप विधामा रुचि राख्छन् । गीतको अडियो रेकर्डिङ क्रोएसियास्थित एक स्थानीय स्टुडियोमा गरिएको हो भने म्युजिक भिडियोको छायांकन पनि क्रोएसियाको राजधानी जाग्रेब शहरका विभिन्न रमणीय स्थानहरूमा सम्पन्न गरिएको छ । भिडियोमा क्रोएसियामै बसोबास गर्दै आएका नेपाली कलाकारहरू प्रकाश दुवाडी, निरु परियार र निशा मगरले जीवन्त अभिनय गरेका छन्, जसले गीतको भावलाई पर्दामा उतार्न मद्दत गरेको छ ।
मोरङ जिल्लामा जन्मिएका गायक काफ्लेको सांगीतिक पृष्ठभूमि निकै लोभलाग्दो छ । रोजगारीका लागि क्रोएसिया जानुअघि उनी नेपालमा एक स्थापित संगीत तथा नृत्य शिक्षकको रूपमा कार्यरत थिए । उनले नेपालका १० वटा भन्दा बढी संस्थागत विद्यालयहरूमा संगीत र नृत्य विधामा प्रशिक्षण दिएको अनुभव संगालेका छन् । उनको प्रतिभा नेपालमा मात्र सीमित रहेन; क्रोएसिया पुगेपछि पनि उनले त्यहाँको बहुचर्चित राष्ट्रिय रियालिटी शो “सुपर ट्यालेन्ट” मा सहभागिता जनाएर आफ्नो कलाको सशक्त उपस्थिति देखाइसकेका छन् ।
सानैदेखि कला र संगीतमा रुचि राख्ने काफ्लेले हालसम्म ६ वटा अफिसियल गीतहरू बजारमा ल्याइसकेका छन् । यी सबै सिर्जनाहरू उनको आफ्नै आधिकारिक युट्युब च्यानल ‘मनि काफ्ले’ मार्फत हेर्न र सुन्न सकिन्छ । ‘शुन्यता’ रिलिजको सन्दर्भमा युरोपाटी मिडियासँग कुरा गर्दै गायक काफ्लेले आफ्नो सांगीतिक यात्रामा साथ दिन सबैलाई आग्रह गरेका छन् । उनले भने, “सबैले मेरो गीत हेरिदिन, सुनी दिन र प्रतिक्रिया जनाइदिन अनुरोध गर्दछु । परदेशमा रहेर पनि नेपाली संगीतलाई माया गरिरहेको छु, आगामी दिनहरूमा अझै धेरै सांगीतिक यात्रा गर्ने योजना छ र सबैको माया पाएर आफ्नो कला निरन्तर प्रस्तुत गर्ने आशा राखेको छु ।”
हेर्नुहोस् म्युजिक भिडियो :





