Home Login
स्वास्थ्य

रसुवाको गणेश आधारभूत विद्यालयका, विद्यार्थीलाई स्विटर र खेलकुद सामग्री हस्तान्तरण

रसुवा, उत्तरगया  जाडोको बढ्दो प्रभावसँगै विद्यार्थीहरूलाई राहत दिने र पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले रसुवाको एक सामुदायिक विद्यालयमा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

विशेषगरी ग्रामीण भेगका बालबालिकाहरूलाई जाडो मौसममा विद्यालय आउन र कक्षाकोठामा बस्न सहज होस् भन्ने हेतुले यो परोपकारी अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयका २३ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो स्विटर र टोपी प्रदान गरिएको छ । यसका अतिरिक्त, विद्यार्थीहरूको शारीरिक विकास र खेलकुदप्रतिको रुचि बढाउन विद्यालयलाई एक थान फुटबल पनि उपहारस्वरूप प्रदान गरिएको छ ।

‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावना बोकेर विश्वका विभिन्न कुनामा रहेका प्रवासी नेपालीहरूले यो अभियानको नेतृत्व गरेका हुन् । आफ्नै मातृभूमिका बालबालिकाहरूको मुहारमा खुसी ल्याउन गरिएको यो प्रयासमा उत्तरगया–१ घर भई हाल दुबईमा कार्यरत अस्मि स्याङ्तान तामाङ, बेलकोटगढी नगरपालिका–४ नुवाकोटकी समिता तामाङ, काभ्रे घर भई हाल स्पेनमा रहेका युवा अभियन्ता अशिम लोछन तामाङ, खोटाङ घर भई हाल कोरियामा रहेका सञ्जाल किराँती, उदयपुर घर भई कोरियामै रहेका सुरज किराँती तथा कास्की घर भई हाल अमेरिकामा रहेका तारा मिलन मगरको आर्थिक तथा भावनात्मक सहयोग रहेको छ ।

भौगोलिक दुरी टाढा भए पनि मनको दुरी नजिक राख्दै प्रवासी टिमले पठाएको उक्त सहयोग सामग्री उत्तरगया–२ का स्थानीय समाजसेवी लोकेन्द्र तामाङमार्फत विद्यालयमा हस्तान्तरण गरिएको थियो । कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिब समेत रहेका युवा अभियन्ता अशिम लोप्चन तामाङले गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहयोग प्राप्त गरेपछि विद्यार्थीहरू हर्षित देखिएका थिए भने विद्यालय परिवारले प्रवासी नेपालीहरूको यो सत्कर्मको उच्च प्रशंसा गरेको छ ।

यस कार्यक्रमबारे जानकारी दिँदै समिता तामाङले आगामी दिनमा पनि विद्यार्थीहरूमा प्रेरणा र सहयोगको भावना जगाउने खालका यस्तै सामाजिक कार्यहरूलाई निरन्तरता दिइने बताउनुभयो । परदेशमा रगत र पसिना बगाइरहेका नेपालीहरूले आफ्नो गाउँठाउँको शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको यो योगदान अनुकरणीय रहेको स्थानीय अभिभावकहरूले बताएका छन् ।

Leave a Reply