लन्डन — कोभेन्ट्रीका नेपालीहरूको एउटा सानो र निस्वार्थ प्रयासले यतिबेला बेलायतको मुटुमा नेपाली पहिचानको नयाँ इतिहास रचेको छ । केवल मनोरञ्जन र संस्कृति संरक्षणका लागि सुरु गरिएको कोभेन्ट्रीको नौमती बाजाले बेलायती संसद सम्मको यात्रा तय गर्दै सम्पूर्ण नेपालीको शिर गर्वले उच्च बनाएको छ । नेपाली मौलिक धुन र बाजाको तालले बेलायती सत्ताको केन्द्रमा गुञ्जिँदा त्यहाँ उपस्थित नेपाली र विदेशीहरू समेत मन्त्रमुग्ध भएका थिए ।
यस ऐतिहासिक यात्राको सबैभन्दा सुनौलो क्षण सन् २०२५ जनवरी १ मा लन्डनको सडकमा देखियो । नयाँ वर्षको अवसरमा आयोजित विशेष परेडमा करिब ५० लाख दर्शकका माझ जब नौमती बाजा बज्न थाल्यो, तब लन्डनको माहोल नै ‘नेपालमय’ बन्यो । “नेपाल, नेपाल” र विश्वको सर्वोच्च शिखर “सगरमाथा” को नामसँगै गुञ्जिरहेको बाजाले विदेशी भूमिमा नेपाली मौलिकताको बलियो उपस्थिति जनाएको थियो । यो केवल एक सांगीतिक प्रस्तुति मात्र नभई विश्व मञ्चमा नेपालको पर्यटन र संस्कृतिको ठूलो प्रवर्द्धन समेत थियो ।
जित राणाभाटको कुशल नेतृत्वमा सहभागी भएको उक्त टोलीले आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो । यस उपलब्धिबापत टोलीले ५ हजार पाउन्ड (करिब ८ लाख नेपाली रुपैयाँ भन्दा बढी) पुरस्कार समेत प्राप्त गरेको छ । कोभेन्ट्री नेपाली कल्चर सोसाइटीले देखाएको यो साहस र लगावको कदर गर्दै हालै बेलायती संसद भवनमै विशेष सम्मान कार्यक्रम आयोजना गरियो, जहाँ सोसाइटीलाई औपचारिक प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सानो समूहबाट सुरु भएको यो अभियानले आज जुन उचाइ लिएको छ, यसले प्रवासमा रहेर पनि आफ्नो माटो र संस्कृतिलाई माया गर्ने हो भने असम्भव केही छैन भन्ने प्रमाणित गरिदिएको छ । बेलायती संसदको प्राङ्गणमा नौमतीको धुन गुञ्जिनुले नेपाली संस्कृति कति समृद्ध छ भन्ने कुराको पुनः पुष्टि गरेको छ ।






