Home Login
AIMA News

एआईएमएमा कागजात बुझाउन अब अनलाइनकै भर ; झन्झटिलो दौडधुपको अन्त्य

पोर्चुगल — पोर्चुगलमा बसोबास गर्ने र निवास अनुमतिको पर्खाइमा रहेका आप्रवासीहरूका लागि एजेन्सी फर इन्ट्रिग्रेसन, माइग्रेसन एन्ड एसाइलम (एआईएमए) ले एउटा महत्त्वपूर्ण र राहतदायी सुविधा ल्याएको छ । अब आफ्नो आवेदनमा कुनै कागजात पुगेको छैन वा छुटेको छ भने त्यसलाई बुझाउनका लागि भौतिक रूपमा एआईएमएको कार्यालय वा स्टोरसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।

एआईएमए मार्फत प्रक्रिया सुरु गरिसकेका सेवाग्राहीले अब आफ्नै घरबाट अनलाइन माध्यम प्रयोग गरी आवश्यक कागजातहरू पेश गर्न सक्नेछन् ।

यस प्रक्रियाका लागि सेवाग्राहीले एआईएमएको आधिकारिक सम्पर्क पोर्टल contactenos.aima.gov.pt मा जानुपर्ने हुन्छ । पोर्टलमा प्रवेश गरिसकेपछि विषयको प्रकारमा ‘निवास अनुमति’ छनौट गरी उपप्रकारमा ‘एआईएमएमा चलिरहेका प्रक्रियाहरूमा कागजात थप गर्ने’ विकल्प रोज्नुपर्छ । यो सुविधाले विशेष गरी ती व्यक्तिहरूलाई सहज बनाउनेछ जसलाई विभागले निश्चित कागजातहरू नपुगेको भन्दै सूचना पठाएको हुन्छ ।

कागजात पेश गर्दा आफ्नो आवेदनको पुष्टिकरण रसिदमा भएको ‘प्रक्रिया नम्बर’ अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । आफूसँग भएका कागजातहरूलाई स्पष्ट रूपमा स्क्यान गरी १० एमबीसम्मको फाइल बनाएर अपलोड गर्न सकिनेछ । नियम अनुसार एक पटकमा ३ देखि ५ वटासम्म फाइलहरू संलग्न गर्न मिल्नेछ ।

यद्यपि, यो अनलाइन सुविधा सबै प्रकारका आवेदनका लागि भने उपलब्ध छैन । नवीकरण पोर्टल वा services.aima.gov.pt मार्फत प्रक्रियामा रहेका व्यक्तिहरूले भने पुरानै तोकिएको विधि अपनाउनुपर्ने हुन्छ । यो नयाँ डिजिटल प्रयासले कार्यालयहरूमा हुने अनावश्यक भीडभाड कम गर्ने र आवेदन प्रक्रियालाई थप छिटो र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

Leave a Reply