प्रवास

बेलायत शाखाको फर्जी निर्वाचन पत्रकार महासंघद्वारा रद्ध

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवाद अन्त्य गर्न केन्द्रले पहल शुरु गरेको छ ।

नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न निर्देश गरेकी छन् ।

पत्रमा नेपाल पत्रकार महासंघले मिति २०८१ जेठ २३ गते नेपाल पत्रकार महासंघ युके सहित सबै वैदेशिक शाखाका अधिवेशन र नयाँ सदस्यता वितरण गर्ने कार्य स्थगित गर्न परिपत्र गरेको रेकर्ड केन्द्रीय समितिमा रहेको उल्लेख छ।

यसअघि महासंघको निर्देशन विपरित गत जुलाई १४ तारिखएउटा समूहले छुट्टै अधिवेशन घोषणा गरेर विमला सेने अध्यक्ष भएको दावी गरे पछि विवाद उत्पन्न भएको थियो ।

पत्रकार महासंघ केन्द्रीय समितिले अधिवेशन स्थगित गरे पछि पनि शाखामा नयाँ अधिवेशन भएको, शाखाका केही पूर्व पदाधिकारी तथा सदस्यहरुले संस्थामा समानान्तर गतिविधि गरेको, समाचार लेखेका आधारमा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने लगायत विधान विपरितका कार्य गरेको भन्ने उजुरी महासंघमा परेको थियो ।

महासंघले शाखाका सदस्यता हटाउने अधिकार केन्द्रीय समितिमा मात्र रहेको स्मरण गराउँदै सदस्यता लगायतका विवाद हल गरी शाखासंग समन्वय गरेर स्थगित भएको अधिवेशनको नयाँ मिति छिट्टै तोकिने समेत पत्रमा उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन स्थगित भएकाले नयाँ समितिका नाममा नेपाल पत्रकार महासंघको विधान विपरितका कुनै गतिविधि नगर्न पनि पत्रमा निर्देश गरीएको छ ।


नेपाल पत्रकार महासंघ यूकेको छैठौं अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले केन्द्रले पठाएको पत्रले शाखामा एकताको वातावरण बनाउन मदत पुग्ने प्रतिक्रिया दिए ।

‘हामीले शुरु देखिनै नेपाल पत्रकार महासंघ केन्द्रको परिपत्र अनुसार अधिवेशन गरौं भनेर भनेका थियौं तर केही साथीहरुको बालहठका कारणले संस्थागत एकता काम हुन सकेन, अब हामी सबै जना एउटै थलोमा बसेर एकताको लागि पहल गर्छौं। अब केन्द्रीय महाधिवेशन पछि शाखाको सदस्यता विवाद अन्त्य गरेर एकता अधिवेशन हुनेछ,” परियारले भने । उनले बेलायत शाखाका सबै सदस्यहरुलाई धैर्य गर्न र एकताको पक्षमा उभिन आग्रह पनि गरे ।

गत जुलाई महिनामा सम्पन्न हुनु पर्ने युके शाखाको छैटौं अधिवेशनमा केन्द्रीय समितिको पत्र मान्ने र नमान्ने विषयमा विवाद भए पछि एक भेलाले परियारको संयोजकत्वमा तयारी समितिको घोषणा गरेको थियो ।

   – नेपालब्रिटेन डट.कम 

Leave a Reply

Your email address will not be published. Required fields are marked *