पोर्चुगल — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका थियो।
यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरिन्छ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको भनाई छ।
क्रिसमस डे लाग्नुभन्दा एक महिना अगाडिदेखि मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । पोर्चुगलमा पनि एक महिना अगाडिदेखि क्रिसमस ट्रि सजाउने,झिलिमिलीका लाइटहरू ठाउँ ठाउँमा सजाउने गरिन्छ।
रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका आप्रवासीहरूलाई पनि उक्त दिन सम्पूर्ण सेवाहरू बन्द गरी छुट्टै दिने चलन छ। गतवर्ष भन्दा यस वर्ष पोर्चुगलमा निकै रोमाञ्चक, पर्यटकहरूको घुइँचो बढेको देख्न सकिन्छ।
धेरैजसो आप्रवासीहरु राजधानी लिस्बनमा बस्ने भएकाले गर्दा बाहिरी पर्यटकहरूको सङ्ख्या भन्दा पनि अप्रवासीहरूको संख्या वृद्धि देखिन्छ।
उक्त दिन सरकारी कार्यालय, रेस्टुरेन्ट, क्याफे, खुद्रा पसल लगायत सबै सेवाहरू अवरुद्ध हुने गर्दछ। डिसेम्बर २४ तारिख भने पोर्चुगलमा राति १० बजेपछि मेट्रो बसहरूको सेवाहरू पनि अवरुद्ध भएको थियो। उक्त सेवाहरू २५ तारिख बिहान ८:३० बजेदेखि मात्रै सुचारु भएको लिस्बन मेट्रोले जनाए।
उक्त दिन नेपालीहरूको दोहोरी साँझ, रेस्टुरेन्टतिर पनि निकै नै घुइँचो लागेको देख्न सकिन्छ।