आज जनवरी ४, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
पोर्चुगलमा काम गर्न सामाजिक सुरक्षा पहिचान नम्बर आवश्यक नपर्ने —
सामाजिक सुरक्षा पहिचान नम्बर नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्।
डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको हो।
मडेइरा विमानस्थलमा पाँच उडान रद्द —
एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै रद्द भएको हो ।
चलचित्र कार्साङ पोर्चुगलमा प्रदर्शन हुने —
नेपालमा पौष २६ गते बाट प्रदर्शनमा आउने चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ।
उक्त चलचित्र पोर्तुगलमा भने जनवरी १२,१३,१४ र १५ तारिख प्रदर्शन हुने भएको छ। चलचित्र रातिको ९ बजेर १५ मिनेटको समयमा प्रदर्शन हुने भएको हो भने उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ। सो टिकट भने १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई १० युरो राखेको छ।
तमु समाज साइप्रसको आयोजमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा—
युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसद्वारा तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले बताएको छ।
कार्यक्रम जनवरी ५ तारिख भोली आइतबारको दिन हुने भएको छ। साइप्रसको राजधानी निगोसियाको एन्टोनाकिस म्युजिक हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने भएको हो।
रोमानिया र बुल्गेरिया शेंगेन क्षेत्रमा पूर्ण सदस्य —
रोमानिया र बुल्गेरिया २०२५ को जनवरी १ मा शेंगेन क्षेत्रमा पूर्ण सदस्य बनेका छन्। यस निर्णयले यी देशहरूमा कार्यरत आप्रवासी कामदारहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्दछ।