आज जनवरी ६, २०२५ सोमबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
आन्द्रे भेन्टुराले राष्ट्रपतिको लागि उम्मेदवारी दिने —
प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरु लाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्।
सन् २०२१ मा, पोर्चुगलको राष्ट्रपतिको लागि उनले उम्मेद्वारी दिएका थिए। उनको यो दोस्रोपटक राष्ट्रपतिको लागि उम्मेदवारी हुनेछ।
क्रोएसियामा मनाइयो तमु ल्होसार —
तमु समाज क्रोएसियाले तमु (गुरुङ) जातिको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आइतवार सम्पन्न भएको छ।
आइतबार क्रोएसियाको राजधानी स्थित जाग्रीबको एक हलमा आयोजना गरिएको कार्यक्रमको सभपतित्व तमु समाज क्रोएसियाका अग्रज समेत रहेका क्रोएसियाका सफल ब्याबसायी कमलमान गुरुङले गर्नुभएको थियो।
चीनसँगको सम्बन्ध नेपालको परराष्ट्र नीतिमा अत्यन्तै महत्वपूर्ण छ : राजदूत कृष्णप्रसाद ओली —
सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। छिमेकी राष्ट्र रणनीतिक सहयोगी साझेदारको रूपमा चीन र नेपालले विगतका वर्षहरूमा विभिन्न क्षेत्रहरूमा बढ्दो सहयोग र गहिरो सम्बन्ध देखेका छन्। डिसेम्बर २०२४ मा, चीन र नेपालले दुई देशहरू बीचको पारस्परिक राजनीतिक विश्वासलाई सुदृढ गर्दै, बेल्ट एण्ड रोड सहयोगलाई प्रवर्द्धन गर्न फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेका थिए।
पोर्चुगलमा मनाइयो तमु ल्होसार —
युरोपियन मुलुक पोर्चुगलमा एक सक्रिय संस्था तमु समाज पोर्चुगलद्वारा तमु ल्होसारको अवसरमा आइतवार राजधानी लिस्बन स्थित अलमेदा महात्मा गान्धीको हलमा तमु ल्होसार विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
मगर समाज माल्टाको दोस्रो अधिवेशन सम्पन्न —
मगर समाज माल्टाको दोस्रो अधिवेशन सांग्रिला रेष्टुरेन्ट एण्ड बारमा आइतवार सम्पन्न भएको छ। आइतवार सम्पन्न दोस्रो अधिवेशनबाट सन्तु थापा मगरको अध्यक्षतामा १५ सदस्यिय नयॅा कार्यसमिति चयन भएको छ।