अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका खतरनाक आप्रवासीहरुलाई क्युबा स्थित ग्वान्टानामुखाडीमा रहेको अमेरिकी सैनिक बन्दी गृहमा पठाउन निर्देशन दिएका छन्।
ट्रम्पले खतरनाक मानिएका आप्रवासीलाई ग्वान्टानामु अमेरिकी जेलमा राख्न चाँजोपाजो मिलाउन रक्षा र गृह मन्त्रालयलाई आदेश दिएका हुन्। आदेशमा ३० हजार आप्रवासी अट्ने सुविधा तयार गर्न भनिएको छ।
ग्वान्टानामुखाडीमा रहेको यो जेल संसारकै खराब र कठोर यातना दिइने जेल मध्येको एक मानिन्छ। यस अघि जर्ज डब्लु बुश राष्ट्रपति हुँदा सन् २००२ मा केही अपराधीहरुलाई त्यहाँ पुर्याइएको थियो। त्यसपछि राष्ट्रपति बनेका बाराक ओबामामा र जो बाइडेनले बन्द गर्न चाहेका थिए तर दुवै सफल हुन सकेनन्।
तर ट्रम्पले भने खतरनाक आप्रवासीलाई उनीहरूको देश फर्काएर जोखिम लिन नसकिने भन्दै सोही जेलमा पठाउन खोजिएको बताएका छन्। उक्त जेलमा कहिलेबाट आप्रवासीलाई पठाउन सुरु गरिनेछ भन्ने निश्चित छैन।
यद्यपि अमेरिका भर आप्रवासीको धर-पकड भने तीव्र पारिएको छ। ट्रम्पले सत्ता समाले यता जनवरी २२ मा ५३८, जनवरी २३ मा ५९३, जनवरी २४ मा २४६, जनवरी २५ मा ९६५ पक्राउ परेका थिए।
जनवरी २६ मा १ हजार १ सय ७९ , जनावरी २७ मा ९ सय ६९ र जनावरी २८ मा १ हजार १६ गरि हालसम्म ५ हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन्।