पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। फेब्रुअरी १६ आइतवार लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिएका थिए। उनले नेपाल सरकारलाई नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान र सम्बन्ध कायम राख्न नीति निर्माण गर्न आग्रह समेत गरे।
संस्थापक अध्यक्ष डिल्लीराम अधिकारीको परिकल्पनाअनुसार, संसारभर रहेका नेपाली मूलका व्यक्तिलाई संगठित गर्दै नेपालसँग सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ पार्ने लक्ष्यका साथ एएनओ स्थापना गरिएको हो। महासचिव भट्टराईले नेपालले आफ्नो मूलका व्यक्तिलाई औपचारिक रूपमा जोड्ने नीति आवश्यक भएको कार्यक्रममा बताए।
विशिष्ट अतिथि एवं बोर्ड अफ ट्रस्टीका सदस्य ओमराज गुरूङले नेपाली मूलका व्यक्तिहरू जहाँ भए पनि आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सांस्कृतिक एकता मजबुत पार्न एएनओले सहयोग गर्ने बताए।
गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले एएनओ पोर्चुगल शाखाको स्थापनाप्रति खुसी व्यक्त गर्दै संस्थाले नेपाली समुदायको समस्या सम्बोधन गर्दै एकताको भावना मजबुत बनाउने अपेक्षा व्यक्त गरे।
यसैगरी, संस्थाले नेपाली समुदायको पहिचान संरक्षण र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ नेपाल जनजाति महासंघ पोर्चुगल शाखाका अध्यक्ष चोप कुमार मगरले पनि शुभकामना व्यक्त गरे।
केन्द्रीय सदस्य दिपेश विष्टले सञ्चालन गरेको कार्यक्रममा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को पोर्चुगल शाखा नयाँ कार्यसमितिमा अध्यक्ष दिनेश विष्ट, उपाध्यक्ष छवि पौडेल, महासचिव ध्रुब ठकुरी, कोषाध्यक्ष अनु गुरुङ रहेका छन्।
त्यस्तै सदस्यहरुमा विष्णु ब. घर्ति, अनन्त तिवारी, अर्जुन सुनाम, समिर भट्टराई, उज्वल ढकाल, पुस्कर राज जोशी, अमृत विश्वकर्मा, विमल कार्की, सविना मनगाथेन, किकी मगर, टिका गर्बुजा मगर, गोपाल राज पोखरेल, तेन्जी नीमा शेर्पा, दा ल्हामु शेर्पा, सुमन खतिवडा, रञ्जना तामाङ, अधि सोताङ् राई, विरेन राई पुष्प बाहदुर चलाउने, रेजिना उप्रेति, सुर्य वोहोरा, विक्रम आचार्य र अनुप राना मगर रहेका छन्।
नेपाललाई मातृभूमि वा पितृभूमि मान्ने, अथवा आफ्ना पूर्वजको उत्पत्ति नेपालमा भएको नेपाली मूलका व्यक्ति एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) मा आबद्ध हुन सक्ने बताइएको छ।