(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै)
रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ।
स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन गर्नुपूर्व विस्तृत छलफल, समन्वय, र सहमतिमा आधारित प्रक्रिया अपनाउनुपर्नेमा, हाल भइरहेको प्रयासले समुदायका सदस्यहरूको विश्वास गुमाएको छ। यसअघि डमी प्रतिनिधिहरूको नाम समावेश गरेर NRNA गठन गरियो, तर त्यसले समुदायका समस्याहरूलाई सम्बोधन गर्न सकेन। अहिले पनि सोही प्रवृत्तिमा अघि बढ्न खोजिएको छ, एक स्थानीय नेपालीले बताए।
गैरआवासीय नेपालीहरूको हितका लागि गठन गरिनुपर्ने एनआरएनए जस्तो संस्था सबै पक्षको सहमतिबाट स्थापित हुनुपर्ने हो। तर, यसपटक पनि स्थानीय नेपालीहरूबीच कुनै परामर्श नगरिएको, न त कसैको राय वा सहमति मागिएको बताइएको छ।
एकजना अगुवाले भने, एनआरएनए जस्तो महत्त्वपूर्ण संगठन निर्माण गर्दा सबैको सहभागिता र सुझाव लिने परिपाटी बसाल्नुपर्छ। हचुवाको भरमा गरिने गठनले संस्था प्रभावकारी हुने सम्भावना छैन। यसले समुदायलाई थप विभाजनमा लैजान सक्छ।
यो गठन प्रति रोमानियामा रहेका धेरै नेपालीहरूको असन्तुष्टि छ। कतिपयले यसरी गठन हुने एनआरएनए लाई औपचारिक रूपमा अस्वीकार गर्ने चेतावनी दिएका छन्।
गैरआवासीय नेपालीहरूको साझा संगठनका रूपमा स्थापित एनआरएनएको गठन पारदर्शी र लोकतान्त्रिक प्रक्रियामा आधारित हुनुपर्नेमा जोड दिँदै, नेपाली समुदायले आगामी दिनमा समन्वय र सहमति बिना गरिने कुनै पनि प्रयासलाई समर्थन नगर्ने बताएका छन्।
रोमानियामा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न र उनीहरूको हकहितका लागि काम गर्न सक्षम एनआरएनएको आवश्यकता टड्कारो रूपमा रहेको भए पनि, यसरी हचुवामा गरिने गठनले संस्थाको औचित्यमाथि नै प्रश्न उठाउने निश्चित छ।