पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ।
मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो।
‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका रूपमा एनआरएनए ग्लोबलका सह-कोषाध्यक्ष तिलक गैरेले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।
विजेता ग्राब जब सान्तोतेनियाले १ हजार ५ सय १५ युरो नगद, मेडलसहित उपाधि जितेको थियो भने दोस्रो स्थानमा रहेको मेचीमहाकालीले ७ सय ५५ युरो नगद र मेडल प्राप्त गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकको उपाधि यम कुमार दुराले जिते भने सर्वाधिक गोलकर्ताको पुरस्कार ग्राब जबका सन्दीप गुरुङले हात पारेका थिए।
उत्कृष्ट गोलकिपरको उपाधि पनि ग्राब जबका ईश्वर गुरुङले जितेका थिए भने उत्कृष्ट खेलाडी मेचीमहाकालीका सुनिल लामालाई घोषित गरिएको आयोजकले बताए।
त्यस्तै अनुशासित टोलीको पुरस्कार मोन्ते गोर्दो नेपाली समाजले हात पारे, यी सबै विधागत विजेताहरूले नगद ५५ युरो र मेडल समेत प्राप्त गरेका हुन्।