स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का स्पेनको अध्यक्षमा केशरबहादुर थापा निर्विरोध चयन भएका छन् ।
तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । थापा दुई दशक देखि कोष्टाब्लाङ्कामा रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन् । थापाले कैयन विपन्न तथा गरिव समुदायका लागि स्वदेशमा सहयोग समेत गर्दै आइरहेका छन् ।
निर्वाचन समिति संयोजक, एनआरएनए कोष्टाव्लाङ्का संस्थापक अध्यक्ष, एनआरएनए स्पेनका उपाध्यक्ष, समाजका बरिष्ठ सल्लाहकार सुरेन्द्र भुजेल थापाका अनुसार १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संयोजक थापाले नवनिर्वाचित अध्यक्ष केशर बहादुर थापालाई शपथ गराएका छन् । नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षहरुमा डा. सविता पाठक, मोति सागर पुन,हेमराज सापकोटा महासचिवमा विजय कुँवर, सचिवमा छेसाङ लोप्चन (अशिम), कोषाध्यक्ष विना थापा अधिकारी चयन भएका छन् ।
यस्तै महिला संयोजकमा लक्ष्मी आचार्य धिताल, युवा संयोजकमा विष्णु गुरुङ चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र दाहाल, कृष्ण पुन, सोनल पुन, पाइलट विद्यार्थी सेजल कँडेल, बलबहादुर थापा बोहरा, विप्लव काफ्ले चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी, संयोजक तथा सदस्यलाई अध्यक्ष थापाले शपथ गराएका थिए । निर्वाचन समिति संयोजक सुरेन्द्र भुजेल थापाले कोष्टाव्लाङ्का क्षेत्रमा नेपालीहरुका लागि एशोसियसन अभिभावक सरह बन्दै गैरहेको बताए ।
दु:ख, सुखमा नेपालीले नेपालीलाई सहयोग गर्ने भावना बढेको छ`, उनले भने, ´नेपाली चाडपर्व सामुहिक मनाउने क्रम बढेको छ, एकता विकास भएको छ ।` एनआरएनए स्पेनका उपमहासचिव, समाजका पूर्व अध्यक्ष केशवराज कँडेलले समाजले सबै नेपालीलाई गोलबद्ध गरेको बताए । ´समाज साझा चरित्रको बनेको छ`, उनले भने, ´अब नेपाल र नेपालीको पुल बन्नुपर्छ, एकतानै बल हो ।` एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले समस्या समाधान या अवसर खोज्दा नेपाली संस्थाहरु अभिभावक बन्न जरुरी रहेको बताए ।
समाजका पूर्व अध्यक्ष अक्कल बहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्का पूर्व अध्यक्ष देवराज सापकोटा, समाजका सल्लाहकार मुकुन्द लामिछाने, एनआरएनए स्पेनका पूर्वउपाध्यक्ष सृजना लामिछानेले एशोसियसन सबैको साझा बन्दै सशक्त कामहरु गर्न सुझाए । नवनिर्वाचित अध्यक्ष केशरबहादुर थापाले नेपाल चिनाउने गरि समाजले गतिविधिहरु गर्ने बताए ।
गौतम बुद्ध, सगरमाथा, नेपाली खाना, कला संस्कृतिबारे विश्वलाई सन्देश दिने गरि गतिविधि हुनेछन्`, उनले भने, ´नेपाल चिनाउन लाग्नेछौँ, स्पेनबासी या पर्यटकले सजिलै नेपाल चिन्न सकुन् । उनले गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन कोष्टाव्लाङ्कामै गुम्बा-मन्दिर बनाउन पहल गरिने बताए ।
उनले कोष्टाव्लाङ्का क्षेत्रमा रहेका नेपालीहरुको तथ्यांक र अवस्थाबारे अध्ययन गर्ने कार्यदलनै बनाइने बताए । निवर्तमान अध्यक्ष नवराज दवाडीले समाजलाई विस्तार गर्दै सबै नेपालीहरुलाई एकत्रित गर्न लाग्नुपर्ने बताए ।
Leave a Reply