

एलिया लिम्बु ।
साइप्रस — साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसद्वारा मनाउने ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम — २०२५ अन्तिम चरणमा जुटेको आयोजकले बताएको छ।
हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ तारिख आइतबारका दिन ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम — २०२५ को अन्तिम चरणमा जुटेको हो।
उक्त संस्थाले प्रत्येक वर्ष चर्चित गायकहरूको साथमा मनाउने कार्यक्रम यस वर्ष पनि जर्मनीमा रहेका चर्चित गायक आङ तेन्जी शेर्पाले साइप्रसमा रहेका नेपालीहरूलाई नचाउनको लागि साइप्रस आउने भएका छन्।
बस्यो मायाले, डाँडाको गुम्बा, तिमी बिना, हिमाली खर्क, कुसुमे रुमाल, यो साँचो माया, लोसार मेला र ल्हासा दरबार जस्ता चर्चित गीतहरू गायक आङ तेन्जी शेर्पाका हुन्।
आयोजक शेर्पा किदुक साइप्रसले बताए अनुसार, चर्चित गायक आङ तेन्जी शेर्पाको साथमा स्थानीय कलाकारहरूले पनि बेजोड प्रस्तुति दिने भएका छन्।
लिमासोलको नियोफिएस्टा हलमा सञ्चालन हुने कार्यक्रमको लागि साइप्रसमा रहेका नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।
बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा आयोजकले उक्त कार्यक्रमको लागि २० युरो टिकटको समेत व्यवस्था गरेको छ।
स्थापनाकालदेखि नै साइप्रसमा सक्रिय संस्था शेर्पा किदुक साइप्रसले एक दशक पार समेत गरिसकेको छ। साइप्रसमा विभिन्न सामाजिक कामहरूमा हातेमालो र सहकार्य गर्दै अगाडि बढेको यस संस्थाले अहिले १० वर्ष पूरा गरेको समेत आयोजकले बताएको छ।