पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायहरुले नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएका छन्।
लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएको हो।
पोर्तुगलमा दोस्रो पटक आयोजना गर्न लागेको गतसालको कार्यक्रमलाई निरन्तरता दिदै नेपाली नयाँ बर्षको शुभ कामना आदानप्रदान कार्यक्रम तथा बिस्का जात्रा’ २०८२ वैशाख २ गते, तदनुसार १५ अप्रिल २०२५ मा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम बेलुकी ४ बजे देखि रातिको १० बजेसम्म हुने भएको छ।
आयोजक नेवा ख:लले उक्त कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ। तालिका अनुसार, भैरव (द्वय:) पूजा, टिकाटाला, ध्वजा, सगुन ग्रहण गर्ने र एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने , समयबजी, नाचगान , रात्रीभोज र डिर्जट पश्चात कार्यक्रम समापन गर्ने कार्यक्रमको तालिका रहेको हो।
सगुन, समयबजी, रात्रीभोज र डिर्जटको लागि आवश्यक रकम प्रति व्यक्ति २५ युरो र १२ वर्षभन्दा कम उमेरकालाई शुल्क नलाग्ने भएको उक्त कार्यक्रमको संयोजक अमूत रत्न शाक्यले जानकारी दिएको छ।
आफ्नो संस्कार र संस्कृति अनुसार गरिने कार्यक्रमा पूजाको लागि चाहिने सबै सामानहरु नेपालबाट ल्याइने जानकारी दिनु भएको छ।
पुजाको लागी भैरबको मूर्ति, आराधना गर्नको लागी चाँदीको पूजा सेट , ध्वजा, सगुनको लागी बोटा (दुना टपरी), समयबजीको लागी लप्टे (टपरी), ऐला पिउनको लागी सली:चा (माटोको पाला),ऐले राख्नको अन्टी ल्याउन लागेको र यसपटक सकेसम्ममा विदेशमा रहेपनि ठेट नेपाली, नेवारी परम्परा अनुसार कार्यक्रम गर्ने जानकारी दिनुभएको छ ।
अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपाली समुदायका व्यक्तिहरुलाई कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।
कार्यक्रमको विषय लगायत विस्तृत जानकारीको लागि कार्यक्रमका संयोजक अमृत रत्न शाक्य (ए आर शाक्य) लाई +३५१-९२००४३८५४ मा सम्पर्क गर्नको लागि अनुरोध समेत गरेको छ।