अशिम लोप्चन तामाङ / २६ फागुन, स्पेन — भिजिट भिषामा युएई पुर्याइएकी एक चेलिको नेपालीहरुले उद्वार गरि स्वदेश फर्काएका छन् । कम्पनीमा काम लगाउने आश्वासन दिएर युएई लगिएकी चेली ५ महिनासम्म घरेलु कामदारका रुपमा काम गरेकी थिइन् ।
मासिक ७०-८० हजार तलवको लोभ देखाएका विचौलियाले ३ लाख ५० हजार लिएका थिए । रामेछाप की ज्ञानु वाइवा लाई नेपाल एसोसिएसन – एनआरएनए युएई र एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठको पहलमा उद्वार गरिएको हो । ५ महिनासम्म विना तलब घरमा काम गर्दै आएकी ज्ञानुले आफू ठगीमा परेको दुखेसो पोखेपछि उद्वार गरिएको थियो । नेपाल एसोसिएसन- एनआरएनए युएईले टिकट लगायत आवश्यक कागजातहरु मिलाएर स्वदेश पठाएको हो ।
नेपाल एसोसिएसन – एनआरएनए एनसिसि युएईका उपाध्यक्ष एवं राहत उद्वार संयोजक भिम मल्ल ठकुरिको व्यवस्थापनमा ज्ञानुलाई सहयोग गरि नेपाल पठाइएको हो । ज्ञानु यसअघि ४ वर्ष साउदीमा थिइन् । चिनेजानेकै व्यक्तिले दलाललाई भेट गराएर युएई लगेका थिए ।
रुपन्देही सैनामैनाका धनबहादुर घर्ती उर्फ हरि नेपालले ज्ञानुलाई युएई पठाएका थिए । ठगीमा परेको भन्दै पीडितले आफ्नो रकम फिर्ता माग गरेकी थिइन् । तर हरिले रकम फिर्ता नहुने भन्दै पछि कल रिसिभ गर्नै छाडेका थिए ।
मध्यपूर्व संयोजक रमेश श्रेष्ठ युएईमा कार्यरत छन् ।उनले समस्या परेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् । उनि नेपाल एसोसिएसन – एनआरएनए – एनसिसिका पूर्व अध्यक्ष समेत हुन् । श्रेष्ठले व्यक्तिगत श्रम गरेर विदेश जादा धेरै नेपाली ठगिन पुगेको बताए । ´विदेश जानू पहिले धेरै सोचविचार गर्नुपर्छ, विचौलियाको विगविगी छ`, उनले भने, ´ आकर्षक तलवको लोभ देखाएर लाखौं ठगि गर्ने प्रवृत्ति मौलाएको छ, सर्तक हुनुपर्छ ।`
नेपाल एसोसियसन – एनआरएएनए युएईका अध्यक्ष विकाश शाहिले विचौलिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । भिजिट भिषामा छिटो विदेश लगिदिने भन्दै विचौलिया सक्रिय छन्, उनले भने, ´राज्यका निकाय चनाखो बन्नुपर्छ, ठगी रोक्नुपर्छ ।
साथै विमानस्थलमा पुर्याउन नेपाल एसोसिएसन – एनआरएनए युएईका सचिब कुमार श्रेष्ठ र उपाध्यक्ष भिम मल्ल ठकुरि पुगेका थिए।