पोर्चुगल — फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देशको पहिलो स्थानमा पर्न सफल भएको छ । बिहीबार प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२५ अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा पर्न सफल भएको हो । यो सँगै फिनल्यान्ड लगातार आठौँ वर्षसम्म विश्वको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको हो ।
अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वार्षिक रिपोर्टका अनुसार फिनल्यान्डपछि दोस्रो नम्बरमा डेनमार्क रहेको छ । यस्तै, तेस्रोमा आइसल्यान्ड र चौथौँ खुसी मुलुकमा स्विडेन परेको छ ।
रिपोर्टका अनुसार विश्वकै खुसी मुलुकको पाँचौँ नम्बरमा नेदरल्याण्ड्स, छैटौँ नम्बरमा कोस्टारिका, सातौँ नम्बरमा नर्वे, आठौँ नम्बरमा इजरायल, नवौँ नम्बरमा लक्जमबर्ग र दसौँ नम्बरमा मेक्सिको छ । कोस्टारिका र मेक्सिको पहिलो पटक शीर्ष १० मा प्रवेश गरेका हुन् । बेलायत २३ र संयुक्त राज्य अमेरिका २४ औँ नम्बरमा परेको छ भने नेपाल ९२ औँ स्थानमा परेको छ । त्यस्तै युरोपको स्पेन ३८ , पोर्चुगल ६० , फ्रान्स ३३ , माल्टा ४८ र इटाली ४० औं स्थानमा रहेको छ।
यस्तै दक्षिण एसियाअन्तर्गत भने नेपाल पहिलो स्थानमा परेको छ । पाकिस्तान १०९ औँ स्थानमा पर्दा छिमेकी मुलुक भारत ११८ औँ स्थानमा परेको छ । त्यस्तै, श्रीलङ्का १३३ औँ स्थानमा, बङ्गलादेश १३४ औँ स्थानमा परेको छ अफगानिस्तान १४७ सहित विश्वकै खुसी मुलुक मध्ये अन्तिम स्थानमा परेको छ ।