

माल्टा — गैरआवासीय नेपाली संघको १६ औं यूरोप क्षेत्रीय सम्मेलनको लागि प्रमुख अतिथि नेपाल सरकारबाट उद्योग तथा वाणिज्यमन्त्री दामोदर भण्डारी र लगानी बोर्डबाट प्रतिनिधि हिमाल चन्द्र अर्याल सहसचिव युरोपियन मुलुक माल्टा आइपुग्नुभएको छ। साथै गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी शुक्रबार माल्टा आइपुग्नुभएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन शुक्रबार मार्च २८ देखि ३० सम्म माल्टाको एक्स ओडिवाइसी होटलमा आयोजना हुन गइरहेको छ।
गैरआवासीय नेपाली संघ माल्टाको आइसिसी सदस्य तथा युरोप क्षेत्रीय सचिव भुवन अर्यालका अनुसार सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरु माल्टा आइसक्नुभएको छ।
सम्मेलन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को मुख्य आयोजना तथा यूरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको हो।
कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरू, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा यूरोप र विश्वभरका ३०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको पहिलो दिन शुक्रबार कार्यक्रम उद्घाटन, संस्कृति कार्यक्रम र पत्रकार सम्मेलन रहने छ भने दोस्रो दिनदेखि नेपालमा लगानी, नागरिकताको विषय लगायत विभिन्न विषयमा गहन छलफल हुने भएको हो।
मुख्य रूपमा, लगानी, व्यापार, उद्यमशीलता, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, गैरआवासीय नेपाली नागरिकता, गोर्खाज् मुद्दा, ज्ञान, सीप र प्रविधि, महिला, युवा तथा दोस्रो पुस्ताको भूमिका, च्यारिटी तथा मानवीय सहायता, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक विषयहरूमा विशेष चर्चा हुनेछ।
सम्मेलनबाट निष्कर्ष निकाल्दै यूरोप घोषणा पत्र जारी गरिने छ । जसले गैरआवासीय नेपालीहरूका मुद्दा समाधान, नेपालमा लगानी प्रवद्र्धन तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।