

बेल्जियम — बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले बेल्जियमका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो ।
प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यस्तै, नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो ।
सन् १९९८ मा आफू युवराज धिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै मौसूफले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गरेका थिए ।