

पोर्चुगल — लिस्वनस्थित नेपाली राजदूतावासले आगामी बुधवार, अप्रिल १६ तारिख देखि औपचारिक रूपमा सेवा सुचारु गर्ने भएको छ, बुधबार दूतावासले एक सूचना निकाल्दै जानकारी दिएको हो ।
सूचना अनुसार, बुधवार १६ अप्रिल २०२५ बाट रेस्टेलोस्थित Rua Pero de Alenquer 29, 1400-069, Lisboa, Portugal मा रहेको राजदूतावासको स्थायी ठेगानाबाट कार्य प्रारम्भ गर्न लागिएको हो ।
यसैबीच, तत्काल सेवा आवश्यक पर्ने नागरिकहरूका लागि शुक्रबार, ११ अप्रिल २०२५ सम्म मात्र अस्थायी रूपमा सेवा प्रदान गरिने छ। त्यस्तो सेवा लिने नागरिकले नेपाल सरकारको राजश्व दूतावासको बैंक खातामा जम्मा गरेपछि मात्र सेवा पाउनेछन्। सो पछिका सेवा भने स्थायी दूतावासको कार्यालयबाट मात्र उपलब्ध हुने बताइएको छ।
त्यस्तै, राजदूतावासको सेवा निरन्तर रुपमा रहने भएको हुँदा तत्काल सेवा लिनु पर्ने सेवाग्राहीहरू मात्र राजदूतावास आउनुहुन र तत्काल जरुरी नपरेका अन्य सेवाग्राहीहरु आफ्नो लागि अनुकूल समयमा राजदूतावास आउन सकिने भएको छ ।
त्यस्तै दुई महिना अगाडि नेपालबाट दूतावासको लागि कर्मचारीहरू आइसकेपछि राजदूतावासबाट सेवा शुरु गर्न केही समय लाग्ने भएकाले नेपाली राजदूतावास, पेरिससँगको सहकार्यमा घुम्ती कन्सुलर शिविर सञ्चालन गरी सेवा उपलब्ध समेत गराएको थियो ।
त्यसो त, नेपाली राजदूतावास, पेरिसबाट तयार भई आएका प्रमाणित कागजात तथा राहदानीहरु लिस्वनस्थित नेपाली राजदूतावासले वितरण समेत गर्दै आइरहेको थियो ।
तत्काल कागजात प्रमाणिकरण गर्नुपर्ने सेवाग्राहीहरूको हकमा ढिलोमा शुक्रवार, ११ अप्रिल २०२५ सम्म मात्र नेपाली राजदूतावास, पेरिसको बैंक खातामा राजश्व रकम जम्मा गरी सेवा लिन सकिने व्यहोरा समेत उक्त प्रकाशित सूचनामा उल्लेख भएको छ।
राजदूतावासको वेवसाइट (https://pt.nepalembassy.gov.np/) तयारीको अन्तिम अवस्थामा रहेको हुँदा तयार भए पश्चात राजदूतावासबाट प्रदान हुने सेवाहरूका सम्बन्धमा उक्त वेवसाइटबाट समेत जानकारी लिन सकिने र कुनै अत्यावश्यक जिज्ञासा / सुझाव भएमा राजदूतावासको इमेलः eonlisbon@mofa.gov.np मा पठाउनको लागि समेत दुताबासले आग्रह गरेको छ ।
गत मार्च ३१ तारिख पोर्चुगलका लागि नेपालका राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलको लिस्बनस्थित राष्ट्रपतिको आधिकारिक निवास बेलेम प्यालेसमा राष्ट्रपति मार्सेलो नुनो डुवार्टे रेबेलो डे सुसा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो । उक्त ओहोदाको प्रमाणपत्र बुझाए पश्चात् राजदुतावास स्थापनाका लागि गर्नुपर्ने प्रक्रियाहरू सहज र सजिलो भएको थियो ।