बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।
२७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् ।
यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप कमेडी गर्ने बताइएको छ । कार्यक्रममा हमालको अलवा कमेडियन सन्दीप क्षेत्री र अतृप्त ब्यान्डका साथमा गायक नवीन के. भट्टराई पनि सहभागी हुने भएका छन् ।
कार्यक्रमको तयारी पुरा भइसकेको माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा दर्शक भरिभराउ हुने आयोजकको अपेक्षा समेत रहेको छ ।