Home Login
रोमानिया

रोमानियाको बुकारेस्टमा भव्यतापूर्वक सम्पन्न भयो किराँती समुदायको महान पर्व ‘उभौली सकेला’

लाक्पा तेन्जी शेर्पा ।

रोमानिया — येले सम्बत ५०८५: किराँती समुदायको मौलिक चाड उभौली सकेला यस वर्ष रोमानियाको राजधानी बुकारेस्टमा विशेष उत्साह र भव्यताका साथ सम्पन्न भएको छ। नेपाल किराँत समावेशी समाज रोमानियाको आयोजनामा सम्पन्न यो सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच पहिचान, एकता र सांस्कृतिक गौरवलाई झनै मजबुत बनाएको छ।

कार्यक्रममा किराँती परम्परागत साकेला सिलि नृत्य प्रस्तुत गरिँदा उपस्थित सबैले हर्ष र गौरवको अनुभूति गरेका थिए। किराँती धर्म, संस्कृति र प्रकृतिपूजक परम्पराको प्रतिनिधित्व गर्ने यस पर्वले विशेषगरी जमिन, प्रकृति र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बाली रोप्ने कार्यको सुरुवातलाई चिह्नित गर्दछ।

कार्यक्रममा काग्यु बुद्धिस्ट एसोसिएसन, नेपाल तामाङ घेदुङ रोमानिया, शेर्पा किदुग रोमानिया, तमु समाज रोमानिया, नेपाल मगर संघ रोमानिया, र नेपाली समाज रोमानियाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो। यस्तै, रोमानियाका विभिन्न पेशागत क्षेत्रहरूमा कार्यरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम मा स्थानीय कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति। नेपाली लोकधुन, परम्परागत भाकाहरू र आधुनिक प्रस्तुतीहरूले उपस्थित सम्पूर्ण दर्शकलाई झुमाएको थियो भने परदेशमा पनि आफ्ना मौलिक गीत, संगीत र नृत्यमार्फत संस्कृति जगेर्ना गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ।

कार्यक्रम नेपाल किराँत समावेशी समाज रोमानियाका अध्यक्ष गौरीमान लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो भने शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो ।

यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी मेलमिलाप, समझदारी र सहकार्यको भावना अझ प्रगाढ बनाएको छ। विविध जातीय, भाषिक र सांस्कृतिक पृष्ठभूमिका नेपालीहरूले एकै थलोमा भेला भई साझा चाडको उत्सव मनाउनु स्वयंमा नेपालभित्रको समावेशी विविधताको प्रतिविम्ब हो।

उक्त कार्यक्रम ले नेपाली संस्कृतिको विश्वव्यापी विस्तार र जागरणमा टेवा पुर्‍याउनुका साथै नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानबारे जानकारी दिने महत्वपूर्ण अवसर बनाएको छ।

Leave a Reply