लाक्पा तेन्जी शेर्पा ।
रोमानिया — गत मे १७ शनिबार रोमानियाको राजधानी बुकारेस्टमा २५६९ औं बुद्ध जयन्ती विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ।
नेपाल तामाङ घेदुङ रोमानिया र कग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयुक्त आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले भगवान गौतम बुद्धको शान्तिको सन्देश फैलाउने उद्देश्य राखेको थियो।
कार्यक्रमको सुरुवात बुकारेस्टस्थित संसद भवन अगाडि लामा गुरुद्वारा गरिएको साङ पूजा (ध्वनि पूजा) बाट गरिएको थियो। उक्त पूजापछि सुरु भएको शान्तिपूर्ण र्यालीले शहर परिक्रमा गरी पुनः संसद भवन अगाडि पुगेर समापन गरिएको थियो।
र्यालीमा रोमानियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, रोमानियामा कार्यरत नेपाली समुदायका सदस्यहरू पनि उल्लेख्य संख्यामा सहभागी थिए। कार्यक्रमको मुख्य उद्देश्य “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने सन्देशलाई विश्वव्यापी रूपमा फैलाउने रहेको आयोजकहरूले जानकारी दिएका छन्।
उक्त र्यालीमा बुद्ध धर्ममा आस्था राख्ने स्थानिय रोमानियन नागरिकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सुरक्षाको दृष्टिकोणले स्थानीय सुरक्षा निकायले र्यालीलाई विशेष स्कटिङसहित सुरक्षा प्रदान गरेको थियो।
यस कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा बुद्ध धर्म र नेपाली पहिचानको प्रवर्द्धनमा टेवा पुर्याएको विश्वास लिइएको छ। आयोजक संस्थाहरूले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर दिने प्रतिबद्धता व्यक्त गरेका छन्।