काठमाडौँ — सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् ।
२०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् ।
१० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र छनोट भएका गरी अहिलेसम्म १३ टोलीले विश्वकप स्थान पक्का गरेका छन् ।
एसियाबाट जापान र इरानले विश्वकप खेल्ने पक्का गरेका थिए। दुवै टोलीले तेस्रो चरणको छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेका हुन् । अघिल्लो साता जोर्डन, उज्वेकिस्तान र दक्षिण कोरियाले विश्वकपको टिकट पक्का गरेका थिए । मंगलबार अस्ट्रेलियाले पनि एसियाबाट विश्वकपमा स्थान बनायो । एसियाबाट अहिलेसम्म ६ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन् । जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् ।
यता ओसियाना क्षेत्रबाट न्युजिल्यान्डले पनि विश्वकप खेल्ने पक्का भएको छ । दक्षिण अमेरिका छनोटबाट अर्जेन्टिना फिफा विश्वकप २०२६ मा पुग्ने पहिलो देश बनेको थियो । मंगलबार ब्राजिल र इक्वेइडरले पनि विश्वकपमा स्थान बनाए। ब्राजिलले दुई खेलअघि स्थान पक्का गर्ने क्रममा पाराग्वेलाई १-० ले पराजित गर्यो । इक्वेइडरले पेरुसँग बराबरी खेल्यो ।
४८ टोलीबीच प्रतिस्पर्धा हुने विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ । एसियाबाट अब २ टोली सिधा छनोट हुन बाँकी छ । अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन् ।
यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ । दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ । ४८ टिमलाई अब चार (चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ ।
१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ । फिफा विश्वकप २०२६ मा तीन देशका १६ सहरमा खेल हुनेछन् ।