स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली असारको दोस्रो साता युरोप भ्रमणमा आउने भएका छन् । युरोपको स्पेन भ्रमणमा फर्किएलगत्तै भारत भ्रमणमा जाने चर्चा छ । तर, अहिलेसम्म दुवै पक्ष नेपाल र भारतबाट भ्रमणको तयारीबारे आधिकारिक सूचना प्रवाह गरिएको छैन ।
यही असार १५ गते स्पेनको सेभिल्ला सहरमा हुने कार्यक्रममा भाग लिनको लागि प्रधानमन्त्री त्यसतर्फ जाने तयारी थालिएको छ । ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्री ओलीले आफ्नो महत्वपूर्ण सम्बोधन गर्ने भनिएको छ । यतिवेला प्रधानमन्त्री ओलीको आसन्न स्पेन भ्रमणभन्दापनि भारत भ्रमणको तयारीको समाचार चर्चामा छ ।
प्रधानमन्त्री ओलीको पछिल्लो कार्यकालमा ११ महिना समय व्यतित हुन लाग्दासमेत भारत भ्रमण हुन सकेको छैन् । प्रधानमन्त्री ओली युएनका महासभामा भाग लिने अमेरिका पहिला गए । लगत्तै चीन भ्रमणमा गएका छन् ।
तर, भारत भ्रमण भने अहिलेसम्म हुन सकेको थिएन ।
सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्दा भारत भ्रमणको तयारीबारे समाचार आउन थालेका छन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि अहिले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालिएको कुरा अनौपचारिक रुपमा बताउने गरेका छन् । यसअघि भ्रमणको कुनै तयारी नहुँदा प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने भनेर सार्वजनिक रुपमा घोषणा गरेका थिए ।
तर, लामो समयसम्म भ्रमण हुन नसक्दा सर्वथा आलोचनाको विषय बनेको थियो । अहिले भ्रमणको चर्चा चलिरहँदा भने प्रधानमन्त्रीको सचिवालयले भने केही बोलेको छैन । भारतीय पक्षले पनि भ्रमणको तयारीबारे औपचारिक रुपमा केही भनेको छैन ।
सम्भवत्ः अबको साताभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय हुने चर्चा छ ।