पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।
२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, पोर्चुगलको नामलाई उच्च सम्मान दिने खेलाडी डियोगो जोटा र उनका भाइको मृत्युको खबर अप्रत्याशित र दुखद छ । म उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो फुटबल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको लागि दुखद दिन हो, प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले भने ।
प्रारम्भिक जानकारी अनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । कारमा उनी उनका भाइसँगै थिए । दुवैको निधन भएको छ । रिपोर्ट अनुसार कार दुर्घटनापछि आगो लागेको थियो ।