पोर्चुगल (लिस्बन) — लेखी बसौं भनेको मनले मानेन । बिगतका बर्षहरु देखि विदेशमा बस्ने नेपालीहरुको साझा संगठन गैरआवासिय नेपाली संघ (एनआरएनए) मा आबद्द भएर के कति राम्रा नराम्रा काम गरे त्यो यहि समाजलाई थाहा होला । तर पछिल्लो २०२३-२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडी जानुपर्छ भनियो समाज मिल्छ टुक्रिएको संस्था एक हुन्छ भने समाजसेवा गर्नलाई जुन पद लिए नि उही भनेर तल झारिएको पदिय जिम्मेवारी लाई सहर्ष स्विकार गरे ।
नवौं राष्ट्रिय महाधिवेशनबाट ५१ सदस्यीय जम्बो टोलि खडा भयो तर समस्या उही । ५१ मिटिङमा कहिल्यै आउदिन भन्ने धेरै साथीहरु भए ।
मान्छे जति कुरो र अर्थविहिन चुरो । पहिलो १ वर्षमा सकेसम्मको समय र देशमा नरहंदा बाहेक कुनै मिटिङ छुटाईन । मिटिङमा म यो पार्टीको त यो पार्टीको भन्ने कुरा बारम्बार आयो ।
समितिमा न त समाज बुझेका न त संस्था, बिना तुकका टिप्पणी र विश्लेषण मात्रै भए । जुन पदको लागि निर्वाचित हो, सो पदिय जिम्मेवारी बहन गर्ने एक जना देखिएन । त्यति मात्रै कहां हो र अर्थविहिन टिकाटिप्पणी गर्दै सामाजिक सन्जाल रंगाउदै उक्साउने मात्र देखिए ।
यि र यस्तै चल्दै गर्दा १ वर्षे कार्यकालको अवधी सकियो तर साधारण सभा गरेर दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिनु पर्ने पहिलो कार्यकालको अध्यक्ष उमेश खड्काले जिम्मेवारी बहन गर्न सक्नु भएन ।
पोर्तुगलका लागि केन्द्रिय सदस्य आईसीसीको नेत्तृत्वमा सबै लागेर पुस्तक निकाल्ने भनियो र सोहि अनुरुप पुस्तक तयार गरीयो तर एकलौटी पारामा विमोचन गरियो । न त आय व्ययको लेखाजोखा नै भयो ।
पूर्व अध्यक्ष खड्काले समाजलाई नकार्दै एकलौटी पारामा आफु मातहतका केहि त्यस्ता व्यक्तिलाई लिएर हिड्नु भयो । न त समाजलाई टेर्नु भयो न त नैतिकताले नै बाध्यो उहांलाई । त्यति मात्रै कहां हो र संस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षहरुलाई आउछु भेट्छु भन्दै आलटाल गर्नुभयो ।
पोर्चुगलमा विकराल समस्या बनेको पासपोर्ट टोलि ल्याएर काम सकेपछि जिम्मेवारी हस्तान्तरण गर्ने मौखिक सहमती गरेर अगाडी बढियो तर आरोईसमा रहेको अफिसमा पासपोर्टको टोलि आउने र राख्ने भन्ने जानकारी गुर्पमा राखियो हामीले हेरियो ।
पासपोर्टको टोलि आउने भन्दै गर्दा ग्रुपमा समय मिल्ने साथीहरुले स्वयम सेवक भएर कार्य सम्पादनमा सहयोग गर्न आग्रह गरियो । सोहि अनुसार समय मिलाएर कार्यालयमा म पनि गए तर त्यहां पुग्दा माहोल अर्कै रहेछ ? भित्र प्रवेशमा रोक लगाईयो को हो तपाई अध्यक्षले कसैलाई भित्र छिर्न नदे भनेको छ भनेर हुकुम भयो । हेर्दा बाउन्सर जस्ता देखिनेहरुले भित्र प्रवेशमा रोक लगाए । पहिलो कार्यकालको अध्यक्षले कार्यसमिति जो सुकै आए पनि भित्र प्रवेश गर्न नदिने आदेश दिएको जानकारी गराए ।
म अचम्ममा परे … उपाध्यक्षलाई ठाडो तरिकाले त्यो पनि कार्यसमिति भन्दा बाहिरको मान्छेले आफ्नै कार्यालयमा छिर्न नदिने यो कस्तो राणा शासन हो भनेर ग्रुपमा जानकारी गराए ।
हल्ला खल्ला भयो तर दुई, चार जना आसेपासेले डाईलग दिए खाउजा जस्तो गरी जाई लागे सकाए । अहिले पछिल्लो समय सबैमा जिकिर भएकै कुरा हो पासपोर्ट काण्ड र घोटाला । आखिर खोई को बोल्यो ? जो बोल्यो उसैलाई पोल्यो भने झै भयो ।
फेरी दोस्रो कार्यकाल जिम्मा लगाउने भनियो तर उही आनाकानी संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष सबैलाई नटेरी नैतिकता नै नभए झै गैरजिम्मेवार जवाफ दिदैं पन्छिए । संसार हाक्न सक्छु भनेर आट गर्ने नारीलाई बारम्बार बलीको बोका बनाईयो ।
सहकार्य गर्दै गर्दा एउटै कार्यालयमा नारी माथी अन्याय र अत्याचार हुन्छ । आफ्नै ईज्जतको धज्जी उडाउदै सार्वजनिक रुपमा अपशव्द बोल्दै गाली बेईजती गर्नेलाई यही समाजले पुज्छ । भ्रष्टाचार गर्नेलाई मलजल गर्छ ।
अनि संस्था कसरी नराम्रो भयो, नराम्रो गर्ने र हुने व्यक्तिले गर्दा हो । नराम्रो गर्नेलाई समाजबाट बहिष्कार गरौंन् सक्छ यो समाजले? सक्छ भने खोई गरेको होईन भने गर्नेलाई खोई गर्न दिएको ।
हिजो के गरे होईन भोलि राम्रो गर्छु भनेर हिड्नुपर्छ । नारीले प्रतिनिधित्व गरेको ठाउंमा नारीहरुकै बिरोध छ । समाज मिलाउनुपर्छ, मिल्नुपर्छ भन्ने कुरा मुखले होईन व्यवहारमा देखाउनुपर्छ । महिनामा दुई, तिन वटा लासहरु पोर्चुगलबाट एनआरएनएले उठाउनुपर्छ तर त्यहि लास माथि घिनलाग्दो राजनिति यहिं समाजले गर्छ । के-का लागि आउने अब ?
एनआरएनएमा समाजसेवा गर्न लाई अनि समाज परिवर्तन गर्छु भन्नेलाई गर्न दिउन, नगरे हो औंला उठाउने गरिरहने, मरिरहने मरेको मरै । नवौं अधिवेशनबाट जो जति आयौं देखिने गरी काम कसैंले गर्न सकेन् नै भन्नुपर्छ तर सन् २०२३-२०२५ को कार्यकाल सकिनै लाग्दा
दोस्रो कार्यकालकी अध्यक्ष दिपा काफ्लेले भने भरपूर समय र काम गरेकै हो । नारी भएकै कारण यो औंलामा गन्न सक्ने समाज र व्यक्तिले मात्र अध्यक्ष काफ्लेलाई सहयोग र समर्थन रह्यो । तर पनि डटेर हर सामनालाई पन्छ्याउदैं आफ्नो कार्यकालको अन्तिम समयसम्म पनि लागि रहिन् दिपा । तर दुर्भाग्यवस् अध्यक्ष हुं भनेर खुलेर काम गर्न दिएन यो समाजले । न की पुरा गर्नै नदिई अपुरो मै बित्यो २०२३-२०२५ को कार्यकाल ।
यस्तै रहिरहने हो भने समाजसेवा गर्छु भनेर आउनेहरुको के अर्थ । समितिमा आउने आफु पनि नगर्ने र काम गर्छु भन्नेलाई पनि गर्न नदिने हो भने कुनै अर्थ छैन् आएर ।
जुझारु, लड्छु होईन गर्छु भन्ने युवाको खांचो छ एनआरएनएमा । मिलेर हातमा हात र साथमा साथ दिन सक्नेहरु मात्र आउनु हुन अनुरोध गर्दछु । अन्त्यमा, २०२५-२०२७ कार्यकालमा आएर जोडिनु हुने सम्पूर्णलाई हार्दिक बधाई सहित यो कार्यकाल खरो सहित दरो बनोस् भन्ने शुभकामना ।
(माथिको लेखकको निजी विचार भएकाले यदि कसैसँग केही गुनासो भए स्वतः लेखक पुनम गौतमसँग सम्पर्क गर्न सक्नुहुनेछ।)
पुनम गौतम — (उपाध्यक्ष)
गैरआवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगल