आयरल्यान्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको (२०२५–२०२७) कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा एक सशक्त र अनुभवसंपन्न प्यानल प्रस्तुत भएको छ ।
विगत डेढ दशकदेखि एनआरएनए आयरल्यान्डमा निरन्तर योगदान दिँदै आएका अधिकारीले यसपटक संस्थाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
अधिकारी संस्थापक सदस्यदेखि महासचिव, उपाध्यक्षसम्मका विविध जिम्मेवारी सम्हाल्दै आएका अनुभवी व्यक्ति हुन् । सूचना प्रविधिको पृष्ठभूमिबाट आएका अधिकारीसँग ग्रिफिथ कलेज, डब्लिनबाट कम्प्युटर साइन्स तथा एप्लाइड डिजिटल मिडियामा स्नातकोत्तर उपाधि छ ।
उनले प्रस्तुत गरेको कार्ययोजना अत्यन्त व्यापक, व्यावहारिक र समुदायमूलक देखिन्छ । यस अन्तर्गत नेपाली समुदायका लागि सामुदायिक केन्द्र स्थापना, विद्यार्थी तथा युवाहरूका लागि करियर परामर्श कार्यक्रम, आप्रवासी सहयोग डेस्क, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, डिजिटल सूचना प्रणाली, प्राविधिक टिम गठन, दूतावास सेवा विकेन्द्रीकरण, मानसिक स्वास्थ्य सहयोग, आपतकालीन सहायता कोष जस्ता महत्वपूर्ण कार्यक्रम समावेश छन् । साथै, महिलाको सशक्तिकरण, सांस्कृतिक आदान–प्रदान, कानुनी परामर्श र कृषिमा कार्यरत आप्रवासीहरूको सहयोगमा समेत योजना समेटिएको छ ।
आईसीसी सदस्यका लागि आदर्श व्यक्तित्वका रूपमा प्रकाश सापकोटाको उम्मेदवारी परेको छ । जनताले रुचाएका र विश्वास पाएका काम गर्दै आएका सापकोटाले अध्यक्षमा सहमति नभएमात्र आईसीसी सदस्य बन्ने परिपाटीलाई तोड्दै, यस पदको गरिमा र जिम्मेवारीप्रति सम्मान व्यक्त गर्दै आईसीसी सदस्यको रूपमा उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्ष पदमा बलबहादुर क्षेत्री र दीपक आचार्यले उम्मेदवारी दिएका छन् । क्षेत्रीले विगत २० वर्षदेखि आयरल्यान्डमा बसोबास गर्दै सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका छन् । अर्कोतर्फ, आचार्य नयाँ विद्यार्थी र आप्रवासीको समस्यामा केन्द्रित भएर सहयोग गर्दै आइरहेका एक युवा सामाजिक अभियन्ता हुन् ।
महासचिव पदका लागि उम्मेदवारी दिएका सन्तोष शर्माले आफ्नो उम्मेदवारीलाई ‘पदका लागि होइन, प्रतिबद्धताका लागि’ भन्दै सार्थक बनाएका छन् । उनले लामो समयदेखि नेपाली कला, संस्कृति र भाषाको संरक्षणमा भूमिका निर्वाह गर्दै आएका छन् । बालबालिकाका कार्यक्रम, सांगीतिक प्रस्तुति र सञ्चार माध्यममार्फत उनले ‘नेपालीपन’ को भावना फैलाउने कार्यमा निरन्तर सक्रियता देखाउँदै आएका छन् ।
कोषाध्यक्ष पदमा अमृत तामाङले उम्मेदवारी दिएका छन् । उनी हिमालयन श्यामरक आवद्ध सदस्य हुन् । उनले वित्तीय पारदर्शिता, कोषको सुरक्षित लगानी तथा युवाको संलग्नतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सार्वजनिक गरेका छन् । उनी Vanguard कम्पनीमा वित्तीय पेशागत जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सचिव पदमा विजय कुमार बुढाथोकीले उम्मेदवारी दिएका छन् । सन् २०१२ देखि आयरल्यान्डमा बसोबास गर्दै आएका बुढाथोकीले लामो समयदेखि नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनी लिमरिक क्षेत्रबाट सामाजिक काममा सक्रिय हुँदै आएका उम्मेदवार हुन् ।
सह–कोषाध्यक्ष पदका लागि तिर्थराज कोइरालाको उम्मेदवारी परेको छ । एमपीएच गरेका कोइरालाले आर्थिक पक्षसँगै स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।
युवा संयोजक पदका लागि उज्ज्वल खड्काले उम्मेदवारी दिएका छन् । मल्टिमिडिया विषयमा स्नातक गरेका खड्का KTM Entertainment का सञ्चालक समेत हुन् । उनले आफ्नो अनुभवलाई प्रयोग गरी युवाहरूका लागि सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् ।
कार्यकारी सदस्यतर्फ डा. प्रज्ज्वल खनाल, ज्योत्सना अधिकारी, प्रदिप राज खड्का,रेजिन कार्की तथा बाबुराम कँडेलले उम्मेदवारी दिएका छन् । डा. खनाल स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य र जनचेतनामा समर्पित रहने प्रतिबद्धता जनाउँछन् । उनले HSE तथा स्थानीय निकायहरूसँग सहकार्य गरी स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन् ।
ज्योत्सना अधिकारी पोर्चुगलस्थित नेपाली नारी समाजमा कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षका रूपमा काम गरिसकेकी उम्मेदवार हुन् । उनले महिलाको नेतृत्व र सशक्तिकरणका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।
प्रदिप राज खड्का कृषिक्षेत्रमा कार्यरत नेपालीहरूको प्रतिनिधित्व गर्दै समस्याको समाधानमा सेतुको भूमिका निर्वाह गर्ने बताए । अर्का उम्मेदवार बाबुराम कँडेल जापान हुँदै आयरल्यान्डमा सामाजिक सेवामा निरन्तर क्रियाशील व्यक्तित्व हुन् ।
त्यस्तै रेजीन कार्की सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनले विद्यार्थीका समस्या, करियर काउन्सेलिङ र आवाससम्बन्धी कार्यक्रमका लागि उम्मेदवारी दिएको बताएका छन् ।
ओम अधिकारी नेतृत्वको प्यानलले पदका लागि मात्र नभई समुदायमा परिवर्तन ल्याउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाउँदै, सबै मतदातालाई समर्थन र मतदानको आह्वान गरेको छ ।
यो प्यानल अनुभव, प्रतिबद्धता, पारदर्शिता र समावेशितामा आधारित रहेको र समाजका लागि समर्पित नेतृत्व” भन्ने मूल मन्त्रमा आधारित यस प्यानलले एनआरएनए आयरल्यान्डलाई थप सशक्त, समावेशी र उत्तरदायी बनाउने अधिकारीको दाबी छ ।
निर्वाचनको समीपता बढ्दै जाँदा उम्मेदवारहरूको अभियानले थप तीव्रता लिएको छ र यसपटकको निर्वाचन एनआरएनए आयरल्यान्डको इतिहासमा रणनीतिक दृष्टिले महत्वपूर्ण बन्ने देखिन्छ ।