स्टकहोल्म, स्वीडेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् । शनिवार स्टकहोल्ममा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका हुन् । उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, पूर्व अध्यक्ष तथा वर्तमान आईसीसी सदस्य राजकुमार पाठक, पूर्व अध्यक्ष तथा आईसीसी सदस्य दिनेश श्रेष्ठ, सल्लाहकार डा. दीपराज थापा, आठौं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका पर्वतारोही पेमा शेर्पा, नेपाल मण्डपका अध्यक्ष सुबास अधिकारी, स्थापक अध्यक्ष नबिन थपलिया र पूर्व अध्यक्ष अर्जुन श्रेष्ठ, एनआरएनए स्वीडेनका पूर्व अग्रज, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
महाधिवेशनपछि नव-निर्वाचित अध्यक्ष तामाङले सबैको विश्वासप्रति आभार प्रकट गर्दै स्वीडेनस्थित नेपाली समुदायको हितमा प्रतिबद्धतापूर्वक काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
नवगठित समितिमा गंगा प्रसाद घिमिरे (स्टकहोल्म) आईसीसी सदस्य रहेका छन् । अध्यक्षमा राजेन्द्र तामाङ, उपाध्यक्षमा डा. दीपराज थापा, महासचिवमा रिना ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा लोकेश ढकाल, कोषाध्यक्षमा शत्ति लामा, युवा संयोजकमा उत्कृष्ट खरेल, महिला संयोजकमा अञ्जना गिरि रहेका हुन् । कार्यसमिति सदस्यहरूमा अशोक खड्का, दीपक पौडेल, भक्ति अर्याल, पार्वती धिताल कडेल र विमानसिंह तामाङ रहेका छन् ।