पोर्चुगल (लिस्बन) — “आदिवासी ज्ञान, आदिवासी परम्परा, पृथ्वीको रक्षा र संरक्षण, सदा सर्वदा” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ, पोर्चुगलले ३१औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।
पोर्चुगलमा रहेका विभिन्न नेपाली मातृ संस्थाहरूको सांस्कृतिक प्रस्तुतिसहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
आगामी अगस्ट ९ तारिख, शनिबारका दिन लिस्बनको एन्जोसस्थित जिनासियो हलमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम दिनको ठीक २ बजेदेखि सुरु हुने महासङ्घले जनाएको छ ।
विश्वभरका आदिवासीहरूको अधिकार, पहिचान, संस्कृति र परम्पराको सम्मान तथा संरक्षणका लागि हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाइन्छ । यसै सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलले पनि प्रवासमा रहेर आफ्नो पहिचान र संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।
महासङ्घका अनुसार, कार्यक्रमको मूल नाराले आदिवासी समुदायको ज्ञान, सीप र परम्पराको महत्वलाई उजागर गर्दछ । साथै, आदिवासी समुदाय प्रकृतिसँग कसरी जोडिएको छ र पृथ्वीको संरक्षणमा उनीहरूको भूमिका कति महत्वपूर्ण छ भन्ने सन्देश विश्वभर फैलाउनु पनि यसको उद्देश्य हो ।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा पोर्चुगलमा क्रियाशील विभिन्न नेपाली आदिवासी जनजातिसँग सम्बन्धित मातृ संस्थाहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ । यी प्रस्तुतिहरूले नेपालको बहुसांस्कृतिक र बहुभाषिक पहिचानलाई पोर्चुगलमा समेत झल्काउने अपेक्षा गरिएको छ ।
यसका साथै, कार्यक्रममा उपस्थित सबैका बीच शुभकामना आदानप्रदान गरिनेछ, जसले पोर्चुगलमा रहेका नेपालीहरूबीच आपसी भाइचारा, एकता र सद्भाव बढाउन मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।
आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ, पोर्चुगलले यस विशेष अवसरमा पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरेको छ । यो दिवस केवल आदिवासी जनजातिको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा पहिचान र गौरवको विषय भएकोले सबैको सहभागिताले कार्यक्रमलाई थप उर्जा मिल्ने आयोजकको भनाइ छ ।
