इन्दिरा चाम्लिंग, काजाब्लांका बेल्जियम — “बागलुङे एकता र सामाजिक सक्रियता हाम्रो पहिचान, समृद्ध बाग्लुङ निर्माण हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको बाग्लुङ समाज बेल्जियमको छैठौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि हरि रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । त्यस्तै, समितिको प्रथम उपाध्यक्षमा बिदुर के.सी, उपाध्यक्षमा प्रभात पौडेल र जमुना शर्मा चयन हुनुभएको छ ।
त्यसैगरी, संगठनको महत्वपूर्ण मानिने महासचिव पदमा दिपक सापकोटाले जिम्मेवारी पाउनुभएको छ भने सचिवमा सन्धर्भ पुन मगर र सुनिता महत निर्वाचित हुनुभएको छ । आर्थिक विभागको जिम्मेवारी सम्हाल्दै कोषाध्यक्षमा हरि शर्मा तथा सह-कोषाध्यक्षमा रन्जिता जि.सि. र सुभाष क्षेत्री चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिका सदस्यहरूमा दुर्गा सापकोटा (विजय), प्रमानन्द सापकोटा, केदार पौडेल, प्रेम सुवेदी, शुभाष गौतम, बिन्दु रेग्मी पाण्डे, हरि खड्का, गंगा क्षेत्री, स्मृती के.सी, नारायण शर्मा कडेल र शंकर के.सी रहनुभएको छ ।
सन् २००९ मा बेल्जियमको कानून बमोजिम दर्ता भई स्थापना भएको यो संस्थाले बेल्जियममा बसोबास गर्ने बाग्लुङेहरूलाई संगठित गर्दै आफ्नो कला, संस्कृति र परम्पराको जगेर्ना गर्न तथा जिल्लाको विकासमा हातेमालो गर्न निरन्तर सक्रिय रहँदै आएको छ ।
कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र ठूलो संख्यामा बाग्लुङेहरूको उपस्थिति रहेको थियो । निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा भएका गतिविधि र आर्थिक प्रतिवेदन प्रस्तुत गरेपश्चात नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढाइएको थियो ।
नवनिर्वाचित अध्यक्ष हरि रोकाले समाजको गरिमालाई अझ उँचो बनाउन सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाग्लुङ जिल्लाको चौतर्फी विकासमा बेल्जियमबाट गर्न सकिने सहयोगलाई निरन्तरता दिने र बेल्जियममा रहेका नेपालीहरूबीच एकता र सहकार्यको भावनालाई थप प्रगाढ बनाउने बताउनुभयो ।
महाधिवेशनमा बोल्ने वक्ताहरूले निवर्तमान समितिलाई सफल कार्यकालका लागि धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनीहरूले युरोपको व्यस्त जीवनशैलीका बावजुद नेपाली पहिचान र जिल्लाको मायालाई जीवन्त राख्न बाग्लुङ समाज बेल्जियमले खेलेको भूमिकाको प्रशंसा गरे ।