Home Login
माल्टा

माल्टामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, कार्यरत थिए फुड डेलिभरीमा

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान भएको एक दुःखद सडक दुर्घटनामा परी एक नेपाली नागरिकको निधन भएको छ । माल्टाको बिर्किकारामा भएको मोटरसाइकल दुर्घटनामा म्याग्दी जिल्लाका ४२ वर्षीय एक पुन थर भएका पुरुषको मृत्यु भएको हो ।

माल्टा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान करिब ५:२० बजे त्रिक साल्भु प्साइला सडकमा भएको थियो । मृतक पुनले चलाइरहेको मोटरसाइकल र एक कार एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको थियो । ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकलसँग ठोक्किएपछि कार अनियन्त्रित भई पार्किङमा राखिएका अन्य तीनवटा गाडीहरूमा समेत ठोक्किन पुगेको थियो ।

रोजगारीको सिलसिलामा माल्टामा रहँदै आएका पुन बिर्किकारामा नै बस्दथे र फुड डेलिभरी पेशामा कार्यरत थिए । आफ्नो परिवारको उज्ज्वल भविष्यको सपना बोकेर विदेशिएका उनको निधनको खबरले माल्टामा रहेका नेपाली समुदाय स्तब्ध भएको छ ।

यस घटनासँगै यस वर्ष माल्टामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले पनि एक फेसबुक पोस्टमार्फत पुनको निधनको खबरले आफूहरू स्तब्ध र मर्माहत भएको जनाएको छ । संघले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Leave a Reply